काठमाडौं । भ्रष्टाचार नियन्त्रण र कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा उत्रिएको जेनजी समूहकै कारण केपी शर्मा ओलीको सरकार नै ढल्यो ।
भदौ २३ र २४ गते भएको आन्दोलनमा ७३ जनाले ज्यान गुमाए भने देशको मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रहरी कार्यालय र निजी तर सरकारी आवासहरु खरानी भए ।
७३ जनाको ज्यान जाने गरी भएको आन्दोलनले ओली नेतृत्वको सरकार त ढल्यो नै संसद नै विघटन भई हाल गैरराजनीतिक व्यक्तिहरुले सरकार चलाइरहेका छन् ।
आन्दोलनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलायो भने प्रदर्शनकारीहरुले प्रहरीलाई कुटीकुटी मारे । तर, सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले प्रहरीलाई कुटीकुटी मार्ने र खोलामा हालेर माथिबाट ढुंगा मुढा गर्ने, सरकारी संरचना ध्वस्त बनाउने र प्रहरीको हतियार र बर्दी खोस्नेमाथि कारबाही नगर्न निर्देशन दिएको छ ।
प्रहरीले भिडियो र फोटोहरुमाथि अनुसन्धान गरी गलत गर्नेलाई कानूनी दायरामा ल्याउन खोज्दा गृहमन्त्री ओम प्रकाश अर्यालले त्यसलाई रोकेका छन् । जसले गर्दा आपराधिक गतिविधि बढ्ने देखिन्छ ।
आन्दोलनका क्रममा देशभरबाट लुटिएका प्रहरीका करिब ११ सय हतियारमध्ये हालसम्म तीन सयभन्दा बढी मात्र फिर्ता भएका छन्।
प्रहरीका अनुसार ८ सयभन्दा बढी हतियार अझै बेपत्ता छन् र खोजीका लागि विशेष समिति गठन गरिएको छ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आन्दोलनकारीले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्दै हतियार लुटेका थिए। ती दृश्य भिडियो र तस्बिरहरूमा समेत कैद भएका थिए।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार हतियार खोज्ने काम तीव्र रूपमा भइरहेको भए पनि ठूलो संख्यामा हतियार अझै फेला परेको छैनन्। लुटिएका केही हतियार सेनाले र केही प्रहरीले बरामद गरिसकेका छन्, तर अझै ठूलो भाग हराइरहेको छ।
ती घटनामा तीन प्रहरीको ज्यान गएको थियो भने केहीले आत्मसमर्पण गरेर ज्यान जोगाएका थिए। हतियार हराइरहँदा सुरक्षाकर्मीहरू हतियारविहिन अवस्थामा पनि ड्युटीमा खटिनुपरेको छ ।
त्यतिमात्रै होइन प्रहरी कार्यालयहरुमा भएको आगजनीका कारण खण्डहर भएको स्थानबाट प्रहरीले सेवा प्रवाह गरिरहनु परेको यथार्थ पनि हामीमाझ छर्लङ्गै छ । जेनजीहरुको दबाबमा गृहमन्त्रीको निर्देशनले ज्यादती गर्नेमाथि प्रहरी निरीह भएर बस्नु परेको छ ।