काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तारको कसरत गररहँदा ‘जेनजी मन्त्री’ का रूपमा प्रचार गरिएका नामप्रति जेनजी अगुवा मिराज ढुंगानाले आपत्ति जनाएका छन् ।
जेनजीबाट सरकारमा सहभागी गराउने तयारी गरिएको भन्दै चार युवायुवतीको नाम हिजो केही मिडियाबाट प्रवाहित गरिएको थियो ।
जसमा रामजी राम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र टासी ल्हाजोम रहेका छन् ।
सरकारको यो तयारीप्रति ढुङ्गानालगायत अन्य जेनजीहरुले पनि असन्तुष्टि जनाएका छन् ।
ढुंगानाले भने- 'उहाँहरूलाई कुन जेनजीले सिफारिस गरेको हो थाहा भएन । आन्दोलनमा कुनै भूमिका नभएकाहरूलाई कदापी स्वीकार गर्दैनौं ।'
उनले चर्चा गरिएका व्यक्तिहरुमध्ये को जेनजी हो र कुन जेनजीले सिफारिस गरेको हो र ? भन्दै उनले प्रश्न उठाएका छन् ।
रौतहटका रामजी रामलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ। चमार समुदायबाट पहिलो डाक्टर बनेका राम कलेज शुल्क विवादका कारण चर्चामा आएका थिए ।
हुम्लाको लिमि भ्यालीकी टासी ल्हाजोम जलवायु परिवर्तनका मुद्दामा बोल्दै आएकी युवती हुन्। हिमाली समुदायका समस्याबारे अन्तर्राष्ट्रिय मञ्चमा समेत आवाज उठाउने गरेकी छिन्।
श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालय, र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।
गणपतिलाल श्रेष्ठ सांस्कृतिक सम्पदा संरक्षणका अभियन्ता हुन्। पशुपति क्षेत्र र खुलामञ्चमा भएको व्यापारीकरणको विरोध गर्दै उनले निरन्तर आवाज उठाउँदै आएका छन्।
त्यसैगरी बब्लु गुप्ता कोभिड-१९ को समयमा निःशुल्क खाना अभियान सञ्चालन गर्ने युवा अभियन्ता हुन्। उनले ‘हन्ड्रेड ग्रुप’ मार्फत ११० विद्यार्थीलाई निःशुल्क पढाउदै आएका छन् ।
अंतरिम सरकारले जेनजी आन्दोलनका अन्य युवाहरूलाई पनि सचिवालय तहमा समेट्ने तयारी गरेको छ।