काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा रहेको द लायन एयरलाइन्सको जहाज ओभरसुट (मिस अप्रोच) भएको छ।
बैंकक–काठमाडौं उडानमा रहेको उक्त विमानले अवतरण अघि आवश्यक प्राविधिक तयारी पूरा नगरेका कारण यस्तो घटना भएको हो।
विमानस्थल कार्यालयका प्रवक्ता रेञ्जी शेर्पाका अनुसार यो ‘ओभरसुट’ नभई मिस अप्रोच हो। उनले भनेका छन्–‘अवतरणका लागि आवश्यक पर्ने जहाजको गति र उचाइ मिल्नुपर्छ। ती मानकहरू नपुगेका कारण जहाजले अवतरण नगरेको हो।’
‘टीएलएम २२०’ उडान नम्बरको यो जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आइरहेको थियो ।
त्रिभुवन विमानस्थलमा अवतरण प्रयास असफल भएपछि विमानलाई भारतको लखनउ विमानस्थलतर्फ डाइभर्ट गरिएको उनले जानकारी दिए।
सामान्यतया अवतरणका बेला आवश्यक शतप्रतिशत तयारी नपुगी जहाज धावनमार्गतर्फ आएको पत्ता लागे पाइलटले ओभरसुट गरी जहाजलाई सुरक्षित अवतरण गराउँछन् ।