एजेन्सी । अफगानिस्तानले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएको दाबी गर्दै आइतबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ।
यसअघि यसै साताको सुरुआतमा अफगान अधिकारीहरूले पाकिस्तानले राजधानी काबुल र देशको पूर्वी भागका बजारहरूमा बम प्रहार गरेको आरोप लगाएका थिए। पाकिस्तानले भने सो आक्रमणको जिम्मेवारी अस्वीकार गरेको छ।
तालिवान सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार अफगान सेनाले २५ वटा पाकिस्तानी चौकीहरू कब्जा गरेको र यसमा ५८ जना पाकिस्तानी सैनिक मारिएका र करिब ३० जना घाइते भएका छन्।
उनका अनुसार अफगान सुरक्षाबलले शनिबार राति पाकिस्तानी सीमा चौकीहरूमा गरेको आक्रमण आफ्नो देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्तामाथि भएको बारम्बारको उल्लङ्घनको जवाफी कारबाही हो। यस घटनाले दुई छिमेकी देशबीचको सुरक्षा तनाव अझ गहिरो पारेको बताइएको छ।
अफगान राज्य सञ्चालित मिडियाले पनि एक दर्जनभन्दा बढी पाकिस्तानी सैनिक मारिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा ठूलो सङ्घर्ष भएको जनाएको छ। तर इस्लामाबादले भने घटनाबारे तत्काल कुनै पुष्टि गरेको छैन।
तालिवान सरकारको रक्षा मन्त्रालयले आइतबार बिहान विज्ञप्ति जारी गर्दै आफ्नो सेनाले सीमामा ‘जवाबी र सफल अपरेसन’ सञ्चालन गरेको जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ- 'यदि विपक्षी पक्षले पुनः अफगानिस्तानको क्षेत्रीय अखण्डता उल्लङ्घन गर्ने प्रयास गर्यो भने, हाम्रा सशस्त्र सेनाहरू सिमानाको रक्षा गर्न पूर्ण रूपमा तयार छन् र कडा जवाफ दिनेछन्।'
राज्य सञ्चालित मिडिया आरटिएका अनुसार ‘प्रतिशोधात्मक अपरेसन’ अन्तर्गत अफगान सेनाले तीनवटा पाकिस्तानी सैन्य चौकीहरू कब्जा गरेको र दक्षिणी हेलमन्ड प्रान्तको सीमाक्षेत्रमा १५ जना पाकिस्तानी सैनिक मारिएका छन्।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले शनिबार राति भएको आक्रमणको कडा निन्दा गर्दै आफ्नो देशको सेनाले ‘अफगानिस्तानको उक्साहटको उचित जवाफ मात्र नदिई, उनीहरूको धेरै चौकीहरू पनि नष्ट गरी पछि हट्न बाध्य पारेको’ दाबी गरे।
पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले शनिबार रातिको गोलीबारीप्रति कडा आपत्ति जनाउँदै भनेका छन्- यस प्रकारको उक्साहटपूर्ण गतिविधिलाई भारतजस्तै उपयुक्त जवाफ दिइनेछ। उनले यस सन्दर्भमा यो वर्षको सुरुमा दुई आणविक-सशस्त्र प्रतिद्वन्द्वीहरूबीच युद्धको नजिक पुगेको सङ्कटलाई स्मरण गरेका थिए।
कतारको विदेश मन्त्रालयले सीमा क्षेत्रमा बढ्दै गएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले क्षेत्रीय सुरक्षा र स्थिरतामा नकारात्मक असर पार्ने चेतावनी दिएको छ। कतारले दुवै देशलाई ‘संवाद, कूटनीति र संयम’ अपनाउन आग्रह गरेको छ।