एजेन्सी । अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा कम्तीमा १५ जना सर्वसाधारणको मृत्य भएको छ ।
दक्षिणी अफगानिस्तानको स्पिन बोल्दाक क्षेत्रमा रातभर चलेको भीषण झडपमा आम सर्वसाधारणलाई गम्भीर क्षति पुगेको हो।
स्थानीय सूचना विभागका प्रवक्ता अली मोहम्मद हक्मालका अनुसार, झडपमा १५ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरिएको छ।
स्पिन बोल्दाक जिल्ला अस्पतालका अधिकारी अब्दुल जान बारकले एएफपीलाई जानकारी दिँदै भने,झडपमा ८० भन्दा बढी महिला र बालबालिका घाइते भएका भएको अफगान अधिकारीहरूले बुधबार बताएका छन्।
तालिबान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक विज्ञप्ति जारी गर्दै, पाकिस्तानी सुरक्षाकर्मीहरूले ‘फेरि एकपटक हल्का र भारी हातहतियार प्रयोग गर्दै आक्रमण गरेको’ आरोप लगाएका छन्।
तालिबानले पाकिस्तानी सैनिकहरू मारिएपछि स्थिति सामान्य बनिसकेको र पाकिस्तानी चौकी र हतियार कब्जामा लिइएको जनाएको छ।
पाकिस्तानले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन, तर सुरक्षास्रोतहरूले उनीहरूले कुर्रम जिल्लाबाट अफगान क्षेत्रलाई लक्षित गरेको जनाएको छ, जुन स्पिन बोल्दाकभन्दा उत्तरतर्फ पर्दछ।
यो हिंसात्मक घटना दुबै देशबीच हाल चलिरहेको कसिलो सम्बन्ध र आपसी आरोप-प्रत्यारोपको बीचमा भएको हो। इस्लामावादले अफगानिस्तानमाथि पाकिस्तानी तालिबान (टीटीपी) को आश्रय दिएको आरोप लगाउँदै आएको छ।
झडपको सुरुवात शनिबार साँझ भएको थियो, जब काबुलले सीमा क्षेत्रमा पर्ने कम्तीमा पाँच प्रान्तमा सैन्य कारबाही सुरु गरेको थियो। तालिबानका अनुसार, बिहीबार काबुलमा भएको बम विस्फोटको जवाफस्वरूप पाकिस्तानले हवाई आक्रमण गरेपछि उनीहरूले प्रतिकारमा आक्रमण गरेका हुन्।
आइतबार इस्लामावादले कडा कारबाही गर्ने चेतावनी दिएपछि दुबै पक्षबीच झडप चर्किएको हो, जसमा दुवैतर्फ ठूलो संख्यामा हताहती भएको एएफपीको स्थलगत रिपोर्टमा उल्लेख छ।
यद्यपि, साउदी अरब र कतारको अपिलपछि आइतबार झडपहरू रोकिएका थिए । तर, पाकिस्तान र अफगानिस्तानबीचका सबै सीमा बन्द छन् ।