दैलेख । दैलेख प्रहरीले लागुऔषध (ब्राउन सुगर)सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुई फरक घटनामा लागुऔषध (ब्राउन सुगर)सहित उनीहरुलाई पक्राउ गरिएको हो ।
असोज १२ गते साँझ करिब ७ः४० बजे नारायण नगरपालिका–१ स्थित अधिकारी होटल अगाडि नापतौलका क्रममा ३८० मिलिग्राम शुद्ध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको थियो ।
पक्राउ पर्नेहरूमा गुराँस गाउँपालिका–४ का लोकेन्द्र शाही, नारायण नगरपालिका–१ का बलराम थापा र नारायण नगरपालिका–२ का नारायण थापा रहेको दैलेख प्रहरीका प्रमुख डीएसपी गणेश बहादुर बरालले जानकारी दिए ।
यस्तै, असोज २५ गते दिउँसो करिब २ः३० बजे नारायण नगरपालिका–१ बसपार्क क्षेत्रबाट प्रहरीले ३९० मिलिग्राम ब्राउन सुगरसहित नारायण नगरपालिका–७, किमुगाउँका उदयबहादुर बस्नेतलाई पक्राउ गरेको छ ।
डीएसपी बरालका अनुसार उनीहरुमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरी जिल्ला अदालत दैलेखबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रहरीले पछिल्लो समय दैलेखमा लागुऔषध कारोवार र सेवनमा संलग्न समूहहरू सक्रिय देखिएको जनाउँदै निरन्तर निगरानी र विशेष अभियान सञ्चालन गरिरहेको छ ।