योजनाकारसहित ७ जना संलग्न
दैलेख । दैलेखको भगवतीमाई गाउँपालिका–४ बेस्तडास्थित कट्टी खोलामा फेला परेको २२ वर्षीय युवकको शव योजनाबद्ध र क्रुर हत्या पछि प्रमाण नष्ट गर्न खोलामा फालिएको खुलासा भएको छ ।
गत भदौं २३ गते बिहान करिब ६ः५० बजे झोलुङ्गे पुल नजिकै कट्टी खोलाको बीच भागमा गोविन्द विकको शव टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा गम्भीर चोट र निलडामसहित नाङ्गो अवस्थामा घोप्टो परेको भेटिएको थियो ।
उक्त घटनाबारे भदौं २३ गते ज्यान सम्बन्धी कसुरमा जाहेरी परेको थियो भने पुस २९ गते कर्तब्य ज्यान मुद्दाको किटानी जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय दैलेखका परेको थियो ।
जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत सो घटनाको सफल अनुसन्धान गरिएको जानकारी गराएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बहादुर बरालले थप अनुसन्धानका क्रममा गत पुस २९ गते कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दर्ता भई घटनामा संलग्न ७ जनालाई प्रतिवादी बनाइएको जानकारी दिए ।
योजनाकारसहित ७ जना संलग्न
हत्या घटनाका मुख्य योजनाकार १७ वर्षीय (परिवर्तित नाम दैलेख–१२) सहित १५ देखि २५ वर्ष उमेर समूहका ७ जना प्रतिवादी रहेको डीएसपी बरालले बताए ।
घटनामा दैलेख, जाजरकोट र कालिकोटका युवायुवती संलग्न रहेका छन् । मुख्य योजनाकारको दिदी (परिवर्तित नाम दैलेख–१२ डी) सँग मृतक गोविन्द विकको सम्बन्ध रहेको आशंकालाई हत्या कारण बनाइएको प्रहरीले जनाएको छ ।
दुई दिनको गोप्य योजना, राति घरमै हत्या
प्रहरी अनुसन्धान अनुसार भदौं २० देखि २२ गतेसम्म प्रतिवादीहरू दैलेख–१२ को बेस्तडास्थित घरमा गोप्य रूपमा बसेर हत्या योजना बनाएका थिए ।
भदौं २२ गते राति करिब १० बजे मृतक गोविन्द विकलाई घरको माथिल्लो तलाबाट जबर्जस्ती तानेर बीच तलाको कोठामा लगिएको अनुसन्धानबाट खुलेको छ ।
त्यसपछि मुख्य योजनाकार दैलेख–१२ ले ढुंगा र फलामको रडले गोविन्द विकको छाती, पेट र टाउकोमा पटक–पटक प्रहार गरेको, अन्य प्रतिवादीहरूले दाउरा तथा हात मुक्काले कुटपिट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
कुटपिटकै क्रममा गोविन्द विकको घटनास्थलमै मृत्यु भएको थियो ।
लाश नाङ्गो बनाएर खोलामा फालियो
हत्या पछि प्रतिवादीहरूले प्रमाण नष्ट गर्ने उद्देश्यले मृतकका सम्पूर्ण कपडा खोलेर नाङ्गो बनाइ कम्बलले बेरी बोरामा हालेर कट्टी खोलामा बोकी लगेका थिए ।
लाश खोलामा फाल्नुअघि मृतकले लगाएको अन्डरवेयर समेत खोलामा बगाइएको र मोबाइल फोन खोलाको किनारमा फालिएको पाइएको छ ।
भोलिपल्ट बिहान मृतकका बाँकी कपडा, जुत्ता र टोपी पनि फरक स्थानमा फालिएको खुलेको छ । मृतक गोबिन्दको जिन्स पाईन्ट, टिसर्ट, जुत्ता र टोपी नाम परिवर्तित दैलेख १२ ले समाती उनको साथमा परिवर्तित नाम दैलेख ९, परिवर्तित नाम दैलेख १०, सागर बिक भन्ने भुपेश बिक र दैलेख ८ समेत गई जिल्ला दैलेख भगवतीमाई गाँउपालिका वडा नं. २ रातीमाटा स्थित बाटोबाट कट्टी खोलाको भिर तर्फ केही दुरीको फरकमा फालेका थिए ।
सोही स्थानबाट परिवर्तित नाम दैलेख ९, सागर भन्ने भुपेश बिक र दैलेख ८ आफ्नो घर तुर्सु तर्फ गएका थिए भने दैलेख १२ र परिवर्तित नाम दैलेख १० बेस्तडा बजार स्थित दैलेख १२ को घर तर्फ फर्किएका थिए । दैलेख १२ ले सो घटना बारेमा कोही कसैलाई नभन्नु, यदि भनेमा तिमीहरुलाई पनि अफ्ठेरो पर्छ भनेका थिए ।
हत्या लुकाउन कोठा लिपपोत, भारततर्फ फरार
हत्या लुकाउन प्रतिवादीहरूले घटनास्थल रहेको कोठा लिपपोत गरी भाडामा दिएको, सरसामान सारिएको तथा मृतक भिरबाट लडेर खोलामा बगेको भ्रम फैलाउने प्रयास गरेको डीएसपी बरालले बताए । घटना पछि मुख्य योजनाकार दैलेख–१२ र दैलेख–१२ डी भारततर्फ फरार भएको पनि अनुसन्धानमा खुलेको छ ।
लागुऔषध र रक्सी सेवन, ‘पार्टी’ समेत
प्रहरीका अनुसार हत्यापछि प्रतिवादीहरू लागुऔषध र मदिरा सेवन गरेको अवस्थामा थिए । हत्या सफल भएपछि उनीहरूले ‘काम सकियो’ भन्दै जाँड पार्टी गरेको समेत बयानमा खुलेको छ ।
घटना संगठित, योजनाबद्ध, निर्मम र क्रुर यातनासहितको विभत्स हत्या भएको ठहर गर्दै ज्यानसम्बन्धी कसूर अन्तर्गत जन्मकैद सजायको मागदाबी सहित सक्कल मिसिल कागजात अभियोजनार्थ जिल्ला सरकारी वकील कार्यालय दैलेखमा पेश गरिएको प्रहरीले जनाएको छ ।