दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले विभिन्न जघन्य अपराधका पीडितहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ ।
दैलेखका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश बहादुर बरालले जघन्य अपराधका पीडितहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्दै समस्या, गुनासो र सुझावहरू सुनेका हुन् ।
भेटघाटका क्रममा पीडक पक्षले पीडितलाई डर, त्रास, धम्की तथा आर्थिक प्रलोभन दिई मुद्दा फिर्ता लिन वा बयान परिवर्तन गर्न दबाब दिएको पाइएको डीएसपी बरालले जानकारी दिए ।
कार्यक्रममा कर्तव्य ज्यान मुद्दाका एक पीडितले आफ्नो श्रीमानको मृत्युपछि ४ जना छोराछोरीलाई हुर्काउने आर्थिक अभाव भएको गुनासो गरिन् ।
प्रहरीले सफल अनुसन्धान गरी पीडकलाई अदालतबाट कारागार चलान गराए पनि पीडितले राज्यबाट आर्थिक सहायता आवश्यक रहेको धारणा व्यक्त गरिन् ।
त्यस्तै, जबरजस्ती करणीका पीडित बालिकाले अदालतमा मुद्दा विचाराधीन भएको र करणीबाट जन्मेको तीन वर्षको छोरा जन्म दर्ता नभएको जानकारी दिइन् ।
अर्का एक पीडित नाबालिकाको आमाले छोरीले जबरजस्ती करणीको घटना भोगेको कारण घरपरिवारले बेवास्ता गर्ने अवस्था रहेको जानकारी गराएकी थिइन् ।
अन्य विभिन्न पीडितहरूसँग पनि डीएसपी बरालले अन्तरक्रिया गरेका थिए । डीएसपी बरालले पीडितहरूले राखेका समस्या, गुनासो र सुझावहरूलाई सम्बोधन गर्दै अपराधीलाई कानूनी दायरामा ल्याउने, पीडितलाई न्यायको अनुभूति गराउने, डर, त्रास वा धम्की आउँदा संरक्षण गर्ने, प्रलोभन वा दबाबमा मुद्दा मिलाउन खोज्नेहरूलाई कानूनी कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरे।
साथै पीडितलाई राज्यबाट आर्थिक सहायता उपलब्ध गराउने विषयमा सम्बन्धित तालुक कार्यालय र निकायलाई जानकारी गराउने पनि उनले स्पष्ट पारे।