काठमाडौं । जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसमेत ७ जना र निर्माण सेवा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।
उनीहरूले सडक निर्माण गर्दा ८१ लाख ५३ हजार ६३० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा भेरी नगरपालिकाका इन्जिनियर मोहन मल्ल, सामाजिक विकास अधिकृत अनिल शाह, कानुन अधिकृत प्रकाशकुमार शाही, लेखापाल राजेन्द्रबहादुर कठायत, नायब सुब्बा कृतिबहादुर थापा र थापा/सविन/सुदर्शन जेभी र यसका प्रोप्राइटर दिपबहादुर खत्री रहेका छन् ।
जाजरकोटको भेरी नगरपालिकाले रानागाउँ नेटीबजार सडक निर्माण गर्दा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा उनीहरूले ८१ लाख ५३ हजार ६३० रुपैयाँ अनियमितता गरेको खुलेपछि अख्तियारले मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा उनीहरूसँग ८१ लाख ५३ हजार ६३० रुपैयाँ बिगो माग दाबी गरिएको छ ।