सर्लाही । बारामा प्रहरीकै संरक्षणमा तस्करी फस्टाएको खुलासा भएको छ ।
यसमा विशेषगरी घुमुवा प्रहरी बरिष्ठ नायब निरीक्षक(बरिष्ठ सई) अरुणकुमार यादवको नाम अगाडि आएको छ ।
दरबन्दी सिरहा भए पनि यादवलाई दरबन्दी नपठाई बरु बारा जिल्लाभर तस्करी असुली मिलाउने जिम्मेवारी एसपी सन्तोष तामाङले दिएका छन् ।
मटिअर्वामा चौकी इन्चार्ज हुँदा नै यादवले कबाडी व्यवसायीसँग साझेदारीमा कारोबार गरेका थिए भने तस्करहरूसँग मिलेर आफैं संलग्न भएको तथ्य बाहिरिएको थियो ।
विभिन्न आरोप लागेपछि उनलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो, तर भित्रभित्रैको चलखेल र पैसाको बलमा केही समयमै भारतसँग सीमा जोडिएको छतवा चौकीमा फेरि पठाइएको थियो ।
छतवामा पुगेपछि पनि यादवले पुरानै शैलीमा तस्करीलाई संरक्षण गरे र आफैं पनि धन्दामा प्रत्यक्ष संलग्न भए । शान्ति सुरक्षाभन्दा बढी तस्करीलाई प्राथमिकतामा देखेपछि स्थानीयले विरोध गरे र विरोध चर्किएपछि उनलाई पुनः जिल्ला कार्यालयमा तानियो ।
तर त्यहाँ पनि उनले काम रोकेनन्, बरु जिल्लामै बसेर सीमा नजिकका युनिट इन्चार्जहरूसँग मिलेर असुलीको नेटवर्क सञ्चालन गरिरहेको खुलेको छ ।
प्रहरी स्रोतका अनुसार, सिम्रौनगढ नाकाबाट कपडा, किराना र चिनी तस्करी गर्न मासिक दुई लाख पचासी हजार असुली हुने गरेको छ भने कहवीगोठ नाकाबाट फुल, किराना र चिनी तस्करी गर्न पाँच लाख दश हजार असुली लिइने गरेको छ ।
मटिअर्वाबाट कपडा र रजनीगन्धा पार गर्दा छ लाख पञ्चासी हजार असुली हुने गरेको छ भने मुसहर्वाबाट कपडा, किराना, हार्डवेयर, कुखुराका चल्ला, मटर, चिनी, काजु, रजनीगन्धा र फुल तस्करी गर्दा मासिक छ लाख पैंतीस हजार असुली लिइएको पाइएको छ । त्यस्तै छतवाबाट कपडा, कस्मेटिक, काजु र कुखुराका चल्ला तस्करी गर्दा तीन लाख पैंसठ्ठी हजार असुली हुने तथ्य समेत बाहिर आएको छ ।
यी सबै नाकामार्फत् मात्रै जिल्लाभर मासिक करिब २४ लाख नब्बे हजार रुपैयाँ उठाइने गरेको तथ्य खुलेको छ ।
यो रकम जिल्ला प्रहरी कार्यालयमै पुग्ने गरेको र यसमा सई यादवलाई प्रहरी उपरीक्षक सन्तोष तामाङको भरपूर साथ रहेको स्रोतको दाबी छ ।
असुलीको सञ्जाल सञ्चालनमा बरिष्ठ सई अरुण यादवमात्र नभई एक बिचौलियासमेत जोडिएका छन् ।
प्रहरीकै संलग्नतामा खुलेआम तस्करीले बारामा शान्ति सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ । स्थानीयवासीहरू आक्रोशित हुँदै प्रहरी संगठनकै छवि धमिलो बनेको भन्दै कडा प्रतिक्रिया दिइरहेका छन् ।
उनीहरूले ‘तस्करी नियन्त्रण गर्ने प्रहरी आफैं संलग्न हुनु घोर आपराधिक’ भन्दै तत्काल अरुण यादवलाई झिकाई सोधपुछ गर्न, छानबिन गरेर आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।