काठमाडौं । सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रणको लागि एसएसपीको नेतृत्वमा अनुगमन टोली चारवटा प्रदेशमा खटाएको छ । तर भन्सारछलीका सामान ओसारपसार नियन्त्रण हुने क्रम घटेको होइन, झन् बढेका छन् ।
केही महिनाअघि ब्यापारीसँग सेटिङ गरी तस्करीको लाइन चलाएको आरोपमा घुमुवा असई सुरेश महतो सशस्त्र मूख्यालय तानिएका थिए ।
तर तिनै तानिएका महतोलाई सशस्त्रको १० नम्बर गण सर्लाहीका एसपी देवबहादुर चन्दले पुनः गणमा फर्काएका छन् । र, ब्यापारीसँग सेटिङमा घुमुवाका रुपमा परिचालन गरिसकेका छन् ।
२० नम्बर गण दरबन्दी भएका असई महतो असुलीमा विवादमा परेपछि गएको चैतमा सर्लाहीको घुमुवाबाट छानबिनका लागि सशस्त्र मुख्यालय तानिएका थिए ।
विगतमा गणका एसपीदेखि छिन्नमस्ता बाहिनी बर्दिबासका डीआईजीलाई समेत मिलाएर सर्लाही र रौतहटको तस्करीको लाइन चलाउने सहायक हवल्दार रोशन मिश्रा रौतहटमा तस्करीको बरामद चिनी लुकाएको काण्डमा सशस्त्र मुख्यालय तानिएका थिए ।
तिनै मिश्राले असई महतोलाई दररेट मिलाएर मुख्यालयको अनुगमनका डीएसपी सुदीप रेग्मीमार्फत् असई महतोलाई सर्लाहीको घुमुवामा फर्काउन सफल भएको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।
असई महतो बरिष्ठ हवल्दार हुँदैदेखि सर्लाही, महोत्तरी र रौतहटमा घुमुवाका रुपमा काम गरेका अनुभवी मानिन्छन् । उनको तस्करीको नेटवर्कबाट लाभान्वित भएका एसपी चन्दले उनलाई छोटो समयमै फर्काउन सफल भएका छन् ।
पूर्वआईजीपी शैलेन्द्र खनाल तत्कालीन मध्यक्षेत्रको डीआईजी हुँदा उनका भान्से बसी पछि काठमाडौंमा पनि सँगै गएका थिए । खनालकै कार्यकालमा उनी मधेश प्रदेशमा खटिएका थिए ।
साढे ३ बर्षअघि असईमा बढुवा भएका महतो दरबन्दी रहेको २० नम्बर गण सिनामंगलमा एक दिन पनि हाजिर भएका छैनन् ।
त्यसैगरी, बीओपी छतौनाका घुमुवा सिपाही संजय पण्डित पनि तस्करीको सेटिङमा तल्लीन रहेको समाचार छ । बाराका फेनहारा गुल्म, छतौना बीओपीबाट चिनियाँ स्याउदेखि भेपसम्म भारततर्फ जाने गरेको छ ।