सर्लाही । नयाँ सरकार बनेपछि भारतसँग जोडिएका सीमानाकामा एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान नेपालमा ल्याउन नदिने भनिए पनि सर्लाहीका विभिन्न नाकाबाट निर्वाध तस्करी भइरहेको छ ।
पछिल्लो समय भारतबाट सबैभन्दा बढी डिजेल तस्करीका माध्यमबाट नेपाल भित्र्याउने गरिएको छ । भारततर्फ डिजल नेपालमा भन्दा प्रतिलिटर ४० रुपैयाँ सस्तो छ । भारतमा ४० रुपैयाँ सस्तो भएकाले नेपालतर्फ डिजल तस्करी हुने गरेको छ ।
स्रोतका अनुसार भारतको बिहारसँग जोडिएको सर्लाहीको मधुवनी नाकाबाट बिजय यादवले ट्याक्टरमा डिजल नेपालतर्फ ल्याउने गरेका छन् । १० ड्रम (३ हजार लिटर) डिजल लोड गरिएका ट्याक्टर सशस्त्र प्रहरी र नेपाल प्रहरीका स्थानीय युनिट इन्चार्जसँग मिलेर नेपालमा भित्रने गरेको आरोप छ ।
एक ट्याक्टर डिजल अर्थात् ३ हजार लिटरमा १ लाख २० हजार रुपैयाँ फाइदा हुने भएकाले २० हजार सेटिङमा खर्च गरी निर्वाध भित्रने गरेको छ । प्रहरी र सशस्त्रसँग लाइन मिलाएर डिजल नेपाल ल्याउने बिजय यादवले नेपालबाट काठ र प्लाइउड भन्सारछली गरी भारत लैजाने गरेको आरोप छ ।
मधुवनी नाकाबाट सुरेश चौधरी र नवीन चौधरीले ठूलो मात्रामा कवाडी भारततर्फ लाने गरेको स्रोत बताउँछ । फेनरा गुल्मका डीएसपी बिष्णुदत्त अवस्थीसँग सेटिङ मिलाएर राजेश महतोले १० वटा मोटरसाइकलमा हरेक दिन बिहान र बेलुका कपडा भित्र्याउने गरेको आराप लागेको छ ।
भारतबाट मोटरसाइकलमा भित्र्याइएका कपडा बरहथवा बजारमा रहेको गोदाममा पुर्याइन्छ । र, काठमाडौं लगायत सहरमा पठाउने गरिएको छ ।
महतोको कपडाको स्कर्टिङ गरी बरहथवा पुर्याउने काम सशस्त्र प्रहरीका सहायक हवल्दार सुरेन्द्र यादव र सुशील यादवले गर्ने गरेको स्रोत बताउँछ । यादवद्वय १० नम्बर गणबाट परिचालित घुमुवा हुन् । बलराको छन्की नाकाबाट बुधु यादवले पटाका भित्र्याइरहेका छन् ।
रामनगरको खयरहवा बजारमा लगी रात्रिबसको डिकी र फल्सबटम बनाएर काठमाडौं पठाउने गरेका छन् । बलराको हथिवलस्थित संजय सिंह (जनमत पार्टीका नेता) को घरमा गोदाम गरी युनिलिभरका सामान स्कर्टिङ नै गरी भारततर्फ पठाउने गरिएको छ ।
कन्हैया झासँग लाभ लिएर प्रहरीका सई र सशस्त्रका घुमुवा प्रिन्स शर्माले युनिलिभरका सामान भारत पठाउन सहजीकरण गर्ने गरेको आरोप छ । कन्हैया झा युनिलिभरका डिलर हुन् ।
उनले भारतको सीमामै लगेर डिपो राखी भन्सार नतिरी सबै सामान भारत पठाउने गरेका छन् । प्रहरी र सशस्त्रकै सेटिङमा बुधु यादवले पटाका नेपालमा ल्याउने र कन्हैया झाले युनिलिभरका सामान भारत पठाउने गरेका छन् ।
बलरा चौकीका सई जीवन राई र छन्की चौकीका असई सन्तोष चौरसियासँग सेटिङ मिलाएर पटाका भित्रने गरेको छ भने युनिलिभरका सामान भारत लैजाने गरिएको स्रोत बताउँछ ।
तस्करीको यो नेटवर्कको सबै सेटिङ मिलाउने काम सहायक हवल्दार रोशन मिश्र र असई सुरेश महतोले मिलाउने गरेको बताइएको छ ।
देखाउनका लागि मिश्र र महतोको गण र बाहिनीमा दरबन्दी राखिए पनि नाका नाकामा तस्करीको लाइन मिलाउने र हाकिमलाई बुझाएर रिझाउने गरेको आरोप छ । स्रोतका अनुसार मिश्रले विगत लामो समयदेखि सर्लाही र रौतहटको तस्करीको नेटवर्क सञ्चालन गर्दैआएका छन् ।
रौतहटको गरुडा नगरपालिका, शिवनगरमा २०८२ साउन २९ गते बरामद भएको ८ सय ४० बोरा चिनीमध्ये १ सय २० बोरामात्र भन्सारमा बुझाएको र ७२० बोरा गायब पार्नेमा रोशन मिश्र नै रहेका थिए ।
त्यसपछि उनी सशस्त्र मुख्यालयमा तानिएका थिए । सशस्त्र मुख्यालयमा तानिएका उनी पूर्वआईजीपी राजु अर्यालका प्रियपात्र भएकाले प्रायः सर्लाहीमै आएर तस्करीको लाइन मिलाएर लाभ लिने गरेका थिए ।