सर्लाही । मधेस प्रदेशको सर्लाहीमा सशस्त्र प्रहरी बलकै संरक्षणमा खुलेआम तस्करी सञ्चालन भइरहेको छ ।
सशस्त्र प्रहरी १० नम्बर गण हेडक्वाटर सर्लाहीका गणपति एसपी देवबहादुर चन्दको नेतृत्वमा तस्करीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न स्थानीय प्रहरी, पासिङ एजेन्ट र तस्करबीच छुट्टै नेटवर्क बनेको प्रहरी स्रोतको दाबी छ ।
सशस्त्रको मधेश प्रदेशका बाहिनीपति डीआईजी कृष्ण ढकालको समेत संरक्षणमा भन्सारछलीका सामान ओसारपसार हुने गरेका छन् ।
सर्लाही जिल्लामा तस्करी नियन्त्रणका लागि सर्लाहीमा २ वटा प्रस्तावित गुल्म राखिएका छन् । पूर्वी नाकाबाट हुने तस्करी नियन्त्रणका लागि मलंगवाको टावरमा एउटा गुल्म छ भने पश्चिमतर्फका लागि फेनहारामा अर्को गुल्म छ ।
तर गुल्मकै छेउबाट निर्वाध तस्करी हुने गरेको छ । गएको साउनमा रौतहटको गरुडा नगरपालिकाको शिवनगरमा बरामद गरिसकेको ८ सय २० बोरा चिनीमध्ये ६८० बोरा गायब पार्ने मुख्य भूमिका भएका सहायक हवल्दार रोशन मिश्रले सर्लाहीमा ब्यापारीहरुसँग सेटिङ गरी तस्करीको लाइन चलाएको आरोप छ ।
सशस्त्र मुख्यालयका अनुगमनका डीएसपी सुदीप रेग्मीकै संरक्षणप्राप्त उनले सर्लाहीको तस्करीको नेटवर्क संचालन गर्दैआएका छन् । सशस्त्रको १० नम्बर गणका एसपी चन्ददेखि बाहिनीपति डीआईजी ढकाल र नेपाल प्रहरीसम्म मिलाउने काम पनि उनै मिश्रले गर्र्दै आएका छन् ।
छतौना बीओपीबाट युनिलिभरका उत्पादनहरु भारत तस्करी हुँदै आएको छ । बलरामा लगेर युनिलिभरको डिलर राखेर छतौनाबाट भारततर्फ भन्सारछलीका सामान भारततर्फ पठाउने गरिएको छ ।
सर्लाहीका प्रमुख सीमा नाका सखुवबा, फेनहरा, बहादुरपुर, मधुवन गोठ, अर्नाहा र बलरातर्फ भारतबाट दैनिक रूपमा कपडा,
सुपारी, सूर्ति, खाद्यान्न, किराना, बीउ, मोबाइल, चिनी, मलदेखि कुखुरासम्म भित्रिने गरेको छ । यी नाकामा रहेका बीओपी र गुल्ममा समेत सेटिङ गरी सामान वारपार हुँदैआएको छ ।
ती सबै तस्करीबाट भित्र्याइएका सामान बरहथवा र वरपरका गोदाममा लगेर राखी त्यहाँबाट पिकअप तथा ट्रकमार्फत् हेटौंडा र राजधानी काठमाडौं पुर्याउने गरिएको छ ।
तस्करीको लाइन चलाउन नाकामा खटिएका घुमुवा र स्थानीय एजेन्टसम्मको सम्पूर्ण सेटिङ रोशन मिश्रले मिलाउने गरेको स्रोत बताउँछ ।
नाका पार गर्ने गाडी, भन्सारछलीका सामान, रकम संकलन र बितरण सबै मिश्रकै समन्वयमा चल्ने गरेको स्रोत बताउँछ । मिश्रलाई १० नं गणका एसपी चन्द र डीआईजीस्तरबाट पूर्ण संरक्षण मिलेको छ ।
सर्लाहीमा कपडा, किराना र खाद्यान्न तस्करीमा हिरालाल साह, इन्दु सहनी, रामेश्वर साह, करन्जित बैठाव, अमामुल, सुरेश यादव, प्रमोद यादव, बृज यादव, मुकेश शाह, बिनोद शाह, सुरेन्द्र यादव, रौसन यादव, कन्हाई पण्डित र रसिया यादव सक्रिय छन् ।
नवीन चौधरी ‘मुना’ कपडा, बीउ, मकै र काठपलाइमा संलग्न छन । राजेश ठाकुर भारतबाट मकै, पटाका, बीउ ल्याएर नेपालतर्फबाट स्याउ उता पठाउने गर्छन् ।
यसबाहेक कवाडी कारोबारमा विजय यादव, कपडामा सखुवबा नाकाका विजय पुकार, त्यही नाकाबाट कवाड, धान र गहुँ तस्करी गर्ने कृष्ण यादव, मोबाइल र बीउमा धर्मेन्द्र महतो, चिनी खादमा गैरको दिनेश महतो, धानमा अजय शाह, कुखुरा तस्करीमा भाड्सर–खुटौना नाकाका दिपक कलवार चौधरी सक्रिय देखिन्छन् ।
फेनहरा नाकामा खटिएका सशस्त्रका घुमुवालाई नियमित रकम बुझाउने बरहथवाका राजेश महतो हुन् ।