काठमाडौँ । गत भदौ २४ गते राजधानीमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हतियार लुटपाट गरी तोडफोड तथा आगजनीमा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका–२६, सुनाकोठीका सम्राट भन्ने राजु परियारलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई सुरक्षाकर्मीले प्रयोग गर्ने सेल्फ–लोडिङ राइफल बोकेर सिंहदरबारको मुख्य गेटसहित विभिन्न स्थानमा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।
राजधानीमा भएको उक्त प्रदर्शनका क्रममा परियारले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको, सरकारी संरचनामाथि आक्रमण गरेको र भीडलाई उक्साएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, परियारमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ बमोजिम ‘आपराधिक उपद्रव गर्न नहुने’ शीर्षकअन्तर्गत मुद्दा दर्ता गरिएको छ।
काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।