काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन्।
शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले राज्यको सबैभन्दा अग्र पंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रूपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म राज्यको सशक्त प्रतिनिधि स्थापित हुन सफल रहेको बताए।
उनले राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौती र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्रको रूपमा रहेको नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताए। नेपाल प्रहरीबिनाको समाज परिकल्पना गर्न नसकिने स्पष्ट पारे।
विभिन्न ९३९ ठाउँमा नयाँ प्रहरी एकाइको माग र चार सयभन्दा बढी एकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको बताए। यसको पूर्तिका लागि २५ हजारभन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको बताए।
खापुङले भने- 'गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको युवा तथा विद्यार्थीको प्रदर्शन त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ। उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनुभएका अन्य दिवंगत आत्माको चिरशान्तिको कामना गर्छु।'
उनले प्रहरीभित्र पनि शुद्धिकरण र सुधारका आवश्यकता रहेको भन्दै प्रहरीको बोली, वचन र व्यवहार सुधार गर्न पनि जरुरी रहेको बताए।
नागरिकले तिरेको करबाट खरिद गरिएको पोशाक लगाएर नागरिकमाथि हुने अपशब्द र रवाफ कहिल्यै स्वीकार्य नहुने बताए।
कार्यक्रममा अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरिएको थियो। यसैगरी जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’प्रदान गरिएको थियो। त्यस्तै अमर प्रहरीका छोराछोरीलाई प्रहरी छात्रवृत्ति प्रदान गरिएको थियो ।