काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ६ उद्योगले ४ अर्ब विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेको छ।
प्राधिकरणले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट,घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको हो।
जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवमको ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ।
यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको थप महसुल बापतको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले पटकपटक बक्यौता तिर्न आह्वान गर्दा समेत उद्योगीले अटेर गरेपछि बाध्यभएर लाइन काट्नु परेको बताए। उनका अनुसार ६ ओटा उद्योग जसले ४ अर्ब भन्दा बढि बक्यौता तिरेका छैनन्। बक्यौता तिर्न सुरु नगर्दासम्म लाइन जोडिने छैन।
कार्यकारी निर्देशक सिलवालले भने- 'हामीले जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट,घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको छौं। ती उद्योगको मात्रै ४ अर्ब बक्यौता छ। पटकपटक तिर्न पत्राचार गर्दा पनि सुनुबाइ भएन्, जसकारण लाइन काट्न बाध्य भयौँ। उहाँहरू तिर्न नआएसम्म लाइन जडानहुँदैन।'
सिलवालका अनुसार तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्नसक्ने गरी काउन्टरको व्यवस्था गरिएको छ। अहिले नै उद्योगीले सबै रकम तिर्नुपर्छ भनेर प्राधिकरणले भन्दैन। २८ किस्ताको सुविधा दिइएको छ। पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएकोलाइन जोडिने सिलवालले बताए।
यसअघि प्राधिकरणले २१ दिने सूचना निकालेर विजुलीको बक्यौता नतिर्ने उद्योगीको लाइन काट्ने चेतावनी दिएको थियो।
प्राधिकरणले १२ असोजमा सूचना जारी गरेपछि दुई नयाँ उद्योगले किस्तामा बक्यौता तिर्न थालेका छन्। त्यसबाहेक अन्य उद्योगहरूले भने विवाद निरुपण नभएसम्म बक्यौता नतिर्ने अडान राख्दै आएका छन्।