काठमाडौं । हामी नेपाल का संयोजक सुदन गुरुङले भौतिक संरचनाभन्दा मानव जीवनको मूल्य ठूलो हुने बताउँदै जेनजी आन्दोलनको मुख्य प्राथमिकता सहिदहरूलाई न्याय दिलाउनु नै हुनुपर्ने बताएका छन्।
बिहीबार माइतीघर मण्डलमा जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै गुरुङले सिंहदरबार जलेको विषयलाई प्रमुख एजेन्डा बनाएर सहिदहरूको बलिदान ओझेलमा पार्ने प्रयास भइरहेको भन्दै आक्रोश व्यक्त गरे।
“मानिसहरू सिंहदरबार जल्यो भनेर चिन्ता गरिरहेका छन्, तर सिंहदरबार त हजार वटा बनाउन सकिन्छ,” उनले भने, “तर एउटा आमाको कोख रित्याएर गएको छोरालाई कसले फर्काउन सक्छ? करोड होइन, देशै बेचे पनि त्यो नागरिक फर्किँदैन।”
गुरुङले नेताहरूले ‘फुटाऊ र राज गर’ को रणनीति अपनाएर जनआन्दोलनलाई कमजोर बनाउन खोजेको आरोप लगाए। उनका अनुसार, आन्दोलनको लक्ष्य सिंहदरबारको भवन होइन, गोली चलाउने र आदेश दिनेहरूलाई कानूनी दायरामा ल्याउनु हो।
“हाम्रो प्राथमिकता गोली हान्नेहरूको विषयमा कुरा गर्नु हो, सिंहदरबार जल्नु दोस्रो कुरा हो,” उनले जोड दिए।
उनका अनुसार, जेन–जी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि भनेको सरकारले जनताप्रति उत्तरदायी र डराउने स्थिति सिर्जना हुनु हो। “नेपालको इतिहासमा पहिलो पटक सरकार जनतासँग डराएको छ। मन्त्रीलाई जनताले ‘तैंले के गरिस्?’ भनेर प्रश्न गर्न थालेका छन् — यही हो हाम्रो उपलब्धि,” गुरुङले भने।
उनले नेताहरूले जनतालाई एक–आपसमा लडाएर पुराना दलहरूलाई पुनः ‘ठीक’ ठहराउने भ्रम फैलाउन खोजेको दाबी गर्दै सचेत रहन आग्रह गरे।