काठमाडौं । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएपछि बन्द भएको वेबसाइट सोमबारबाट अवस्थामा सञ्चालनमा आएको छ ।
करीब डेढ महिनादेखि बन्द रहेको वेबसाइट सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखाले पूर्ववत् रूपमा सञ्चालन गरेको हो ।
हेटौडामा रहेको ब्याकअप सेन्टरु बाट डाटा रिकभर गरेर वेबसाइट सञ्चालनमा ल्याइएको सूचना प्रविधि महाशाखाले जनाएको छ।
कागजी रूपमा मात्रै सञ्चालनमा रहेको अदालतको काम अब सोमबारबाट डिजिटल रूपमा सञ्चालन भएको छ । सर्वोच्च अदालतले आफ्नो र मातहतका अदालतको न्यायिक कामकारबाहीका लागि मुद्दा व्यवस्थापन प्रणाली (केस म्यानेजमेन्ट सिस्टम- सीएमएस) सञ्चालन गर्छ ।
सर्वोच्च अदालतकै वेबसाइटमा आबद्ध विशेष, उच्च र जिल्ला अदालतका वेबसाइट र सूचना प्रणाली पनि अब सञ्चालन गर्ने तयारी भइरहेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ ।
अदालतको वेबसाइट बन्द हुँदा मुद्दाको सुनुवाइ समेत प्रभावित भएको थियो। गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीले आगजनी गर्दा सर्वोच्चसहित देशभर २३ वटा अदालतमा क्षति पुगेको थियो।