एजेन्सी । युद्धविराम घोषणा भएको तीन सातामै इजरायलले गाजामा नयाँ हवाई हमला सुरु गरेको छ।
अमेरिकी मध्यस्थतामा गत अक्टोबर १० देखि लागू भएको युद्धविराम हमासले उल्लङ्घन गरेको आरोप लगाउँदै इजरायली सेनाले बुधबार बिहानैदेखि गाजाका विभिन्न क्षेत्रमा बमबारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजा पट्टीमा 'शक्तिशाली र तत्काल आक्रमण' गर्न निर्देशन दिएका छन्। नेतान्याहूले हमासले बन्धकको भनेर गलत शवहरू हस्तान्तरण गरी युद्धविराम तोडेको आरोप लगाएका छन्।
तर हमासले नेतान्याहूको आरोप अस्वीकार गर्दै आफू अझै पनि युद्धविराम सम्झौतामा प्रतिबद्ध रहेको बताएको छ। हमासको सशस्त्र शाखा अल–कसाम ब्रिगेडले भने इजरायलले युद्धविराम उल्लङ्घन गरेपछि बन्धकहरूको शव हस्तान्तरण प्रक्रिया स्थगित गरेको जनाएको छ।
रोयटर्सका अनुसार हवाई आक्रमणबाट कम्तिमा २६ जनाको मृत्यु भएको छ। गाजाको बुरेज शरणार्थी शिविरमा पाँच जना, सब्रा टोलको एक भवनमा चार जना, र खान युनिसमा गुडिरहेको गाडीमा पाँच जना मारिएका छन्। प्रत्यक्षदर्शीहरूले बुधबार बिहानसम्म पनि बमबारी जारी रहेको बताएका छन्।
सम्झौता अनुसार हमासले बाँकी जीवित बन्धकहरू फिर्ता गरेको थियो भने इजरायलले करिब २ हजार प्यालेस्टिनी कैदीहरू रिहा गरेको थियो। तर पछिल्ला दिनमा दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै आएका छन्।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म इजरायली आक्रमणमा ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं अझै बेपत्ता छन्।