काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट गर्ने घटनामा संलग्न सात जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेहरूमा पनौती नगरपालिका–३ का २८ वर्षीय अनिष सापकोटा, पनौती–८ का २६ वर्षीय सुमन केसी, बनेपा–१० का २१ वर्षीय साकार केसी, बेथानचोक–६ का १९ वर्षीय समिर तामाङ, बेथानचोक–३ का ३२ वर्षीय होम प्रसाद तिमल्सिना, पनौती–२ का २४ वर्षीय सुवास तामाङ र महाभारत गाउँपालिका–४ का २३ वर्षीय ङेमासाङ मुक्तान रहेका छन् ।
प्रहरीका अनुसार, पक्राउ परेकामध्ये अनिष सापकोटा सन् २०७२ सालमा पनि अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्ति हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रबिन बिष्टका अनुसार, आन्दोलनको आडमा सबैभन्दा बढी क्षति इलाका प्रहरी कार्यालय बनेपामा पुगेको छ। आन्दोलनकारीहरूले कार्यालय परिसरमा आगजनी र लुटपाट गरेका थिए।