काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरूले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेका छन् ।
बोर्डभित्र क्रियाशील नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठले “नैतिक आधारमा” तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
कर्मचारीहरूका अनुसार अर्थ मन्त्रालयले बोर्डको स्वायत्ततामाथि निरन्तर हस्तक्षेप गर्दै आएको र त्यसविरुद्ध अध्यक्ष श्रेष्ठले कुनै ठोस कदम नचालेको आरोप लगाएका छन् । अध्यक्षले पदको गरिमा र बोर्डको स्वायत्तता जोगाउने जिम्मेवारी वहन गर्न असफल भएका कर्मचारीहरुको ठहर छ ।
अर्थ मन्त्रालयले हालै कर्मचारीका सेवा–सुविधा कटौती गर्ने निर्णयसहित पत्र पठाएपछि पनि बोर्डका सञ्चालक समितिले कुनै पहल नगरेको भन्दै कर्मचारीहरू असन्तुष्ट बनेका हुन् ।
बोर्डका कर्मचारीहरू ३८ दिनदेखि आन्दोलनरत छन्। तर, सो अवधिमा अध्यक्षले वार्ता वा समाधानको पहल नगरेको भन्दै उनीहरूले असन्तोष जनाएका छन्।
विज्ञप्तिमा भनिएको छ, 'अध्यक्षले न्यायिक निरुपणका लागि अदालत जान सक्ने संविधान र ऐनले प्रदत्त अधिकार प्रयोग नगर्दा समस्या झन् गहिरिएको छ।'
कर्मचारीहरूले चेतावनी दिँदै भनेका छन् —“अध्यक्षले राजीनामा दिएर मार्ग प्रशस्त नगरेसम्म उनलाई बोर्डको कार्यकक्षमा समेत प्रवेश गर्न दिइने छैन।”