एजेन्सी । तान्जानियामा विवादास्पद निर्वाचनपछि देशभर भड्किएको हिंसामा परि ७०० भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरिएको छ ।
विपक्षी दल ‘चडेमा’ले शुक्रबार देशव्यापी रूपमा भएका झडपहरूमा सयौं मानिस मारिएको बताएको छ ।
चडेमाका प्रवक्ता जोन किटोकाले बताएअनुसार दार–एस–सलाममा मात्रै करिब ३५० र म्वान्जा क्षेत्रमा २०० भन्दा बढी मानिसको मृत्यु भएको छ । अन्य क्षेत्रको संख्या जोड्दा यो तथ्यांक लगभग ७०० पुग्छ । पार्टीले यो आँकडा अस्पतालहरूको भ्रमणमा आधारित रहेको बताएको छ ।
तर, संयुक्त राष्ट्रसंघले विश्वसनीय स्रोतहरूलाई उद्धृत गर्दै दशजनाको मृत्युको पुष्टि गरेको छ । जसले विपक्षीको दाबीसँग विरोधाभास देखाउँछ।
तान्जानियाका विदेश मन्त्री महमूद थाबित कोम्बोले पनि विपक्षीको दाबी अस्वीकार गर्दै सरकारले ‘अत्यधिक बल’ प्रयोग नगरेको र प्रदर्शनकारीको मृत्युसम्बन्धी कुनै आधिकारिक तथ्याङ्क नभएको बताएका छन्। उनले केही क्षेत्रमा सरकारी सम्पत्ति जस्तै कार्यालय र सवारी साधनमा हिंसा र तोडफोड भएको स्वीकार गरेका छन्।
सरकारले हालसम्म कुनै आधिकारिक आँकडा सार्वजनिक गरेको छैन ।