काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा अमेरिकाले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ ।
सोमबार दुबईमा सम्पन्न खेलमा अमेरिकाले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.१ ओभरमा ४९ रनमै समेटिएको हो ।
यूएईका जुनैद सिद्दिकीले सर्वाधिक १० रन बनाए । यसबाहेक, घरेलु टिमका कुनै पनि ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
यूएईलाई सस्तैमा समेट्न अमेरिकाका रुसिल उगारकले सर्वाधिक पाँच विकेट लिए । सौरभ नेत्रावाल्करले तीन विकेट लिए । सुभम रञ्जाने र मिलिन्द कुमारले समान एक–एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा आएको अमेरिकाले निर्धारित ५० ओभरमा तीन विकेट गुमाएर २९२ रनको योगफल खडा गरेको थियो ।
अमेरिकाका साइतेजा मुक्कामला र मिलिन्द कुमारले शतकीय इनिङ खेले । इनिङको अन्तिमसम्म अविजित रहेका मुक्कामलाले सर्वाधिक १३७ रन बनाए । यस्तै, मिलिन्दले १२३ रन थपे ।
अब यूएईले जारी शृंंखलाको अन्तिम खेलमा नेपालविरुद्ध नोभेम्बर ५ मा खेल्ने तालिका छ ।