धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम बहादुर रानाले प्रदेशअन्तर्गतका विभिन्न जिल्लास्थित प्रहरी कार्यालयहरू र तालिम केन्द्रहरूको अनुगमन तथा निरीक्षण गरिरहेका छन् ।
हालै सरुवा भएर सुदूरपश्चिम आएका डीआईजी रानाले अछाम, बाजुरा र डोटी जिल्ला प्रहरी कार्यालयहरूसँगै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको निरीक्षण गरेका हुन् ।
निरीक्षणसँगै उनले संगठनको कार्यक्षमता, अनुशासन र जनमैत्री सेवाको प्रभावकारिता बढाउन निर्देशन दिए । सोमबार डीआईजी रानाले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा निरीक्षण गर्दै कोत गारद, ब्यारेक, मेस, होजियारी, शैलुन, खुद्रा क्यान्टिन, चमेना क्यान्टिन लगायत सम्पूर्ण भौतिक संरचनाको अवस्थाबारे जानकारी लिए।
साथै, तालिमरत प्रहरी र प्रशिक्षार्थीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको सुझावसमेत संकलन गरे । आजै उनले जिल्ला प्रहरी कार्यालय डोटीको पनि निरीक्षण गरेका थिए ।
डोटीस्थित कार्यालय भवन, शाखा, ब्यारेक, क्वाटर गार्ड र हिरासत कक्षको अवस्थाबारे जानकारी लिँदै उनले प्रहरी युनिट प्रमुखहरूलाई जनशक्ति र साधन स्रोतको प्रभावकारी प्रयोग गरी उच्च अनुशासनका साथ नागरिकमैत्री सेवा प्रवाह गर्न निर्देशन दिए।
त्यसअघि आइतबार डीआईजी रानाले जिल्ला प्रहरी कार्यालय अछाम र बाजुराको निरीक्षण गरेका थिए । उनले अछाम प्रहरी कार्यालयका सम्पूर्ण शाखा, ब्यारेक, मेस र हिरासत कक्षको अवस्था अवलोकन गर्दै प्रहरी संगठनको सर्वोपरि हितलाई आत्मसात् गरी निष्ठापूर्वक उच्च मनोबलका साथ कार्य गर्न कर्मचारीहरूलाई निर्देशन दिए।
बिकट भौगोलिक क्षेत्र मानिने बाजुरा जिल्लामा समेत पुगेका डीआईजी रानाले जिल्ला प्रहरी कार्यालयको अवस्थाबारे जानकारी लिए । उनले त्यहाँका प्रहरी युनिट इन्चार्जहरूलाई स्थानीय समुदायसँग आत्मीय सम्बन्ध कायम गर्दै अपराध नियन्त्रण, लागुऔषध ओसारपसार र गुण्डागर्दी नियन्त्रणमा दृढताका साथ काम गर्न निर्देशन दिए ।
उनले भने, 'प्रहरीको आचरण संयमित, सन्तुलित र नागरिकमैत्री हुनुपर्छ। स्थानीय बासिन्दासँग सहकार्य र सद्भावका माध्यमबाट शान्ति र सुरक्षाको वातावरण मजबुत बनाउन आवश्यक छ।'
डीआईजी रानाले सबै जिल्लामा प्रहरी कर्मचारीहरूलाई संविधानले सुनिश्चित गरेको मौलिक हक र मानव अधिकारको सम्मान गर्दै निष्पक्ष र स्वच्छ पीडितमैत्री सेवा प्रवाह गर्न आह्वान गरे।
उनले परिवर्तनशील अवस्थालाई आत्मसात् गर्दै उच्च अनुशासन र पेशागत निष्ठासाथ प्रहरी सेवाको गुणस्तर अझ उन्नत बनाउन निर्देशन दिएका छन् ।