सर्लाही । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारको प्राथमिकता सुशासन कायम गर्नु रहेको छ । राष्ट्रको मुख्य प्रशासनिक अड्डा सिंहदरबार, न्यायपालिकादेखि देशभरका सरकारी भवन आगजनी भएर देशलाई खर्बौंको नोक्सानी भएको छ ।
तर सीमाक्षेत्रमा भन्सारछली तस्करी नियन्त्रण हुनसकेको छैन । सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलकै गण, गुल्म र बीओपीका इन्चार्जहरुसँग सेटिङ मिलाएर तस्करी हुने गरेको छ । जसले गर्दा लक्ष्य अनुसार राजस्व असुली हुन सकिरहेको छैन ।
नेपालबाट चिनियाँ स्याउ, नास्पाती, ब्राजिलियन मकैमात्र होइन, बहुराष्ट्रिय कम्पनी युनिलिभरका उत्पादन समेत भन्सारछली गरी भारततर्फ पठाउने छुट दिइएको छ ।
सर्लाहीस्थित सशस्त्र प्रहरी बलको प्रस्तावित फेनहारा गुल्म अन्तर्गतको छतौना बीओपीका इन्चार्ज इन्स्पेक्टर महेश न्यौपानेसँग सेटिङ मिलाएर युनिलिभरका उत्पादन भारततर्फ तस्करी हुने गरेको छ ।
छतौना बीओपीको इन्चार्जमा १ महिनाअघि न्यौपानेलाई सरुवा गरिएपछि युनिलिभरका उत्पादन हरेक रात भारतमा तस्करी हुने गरेको छ ।
छतौना बीओपी अन्तर्गत भारतीय सीमा जोडिएको बलरा नगरपालिका–३ मा युनिलिभरको एजेन्सी राखिएको छ । सीमामै लगेर युनिलिभरले एजेन्सी राख्नुको उद्देश्य तस्करीमा सहजताका लागि नै भएको बताइन्छ ।
युनिलिभरको एजेन्सीका म्यानेजर कन्हैया झा र कर्मचारी केशव झा रहेका छन् । नेपालबाट उनीहरुले हरेक रात पिकअपमा युनिलिभरका सामान सीमा काटाउने र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) मिलाउन संजय सिंह नामका बिचौलियालाई परिचालन गरेको स्रोत बताउँछ ।
रातिमा युनिलिभरका सामान भारत तस्करी गर्दै गरेको भिडियो समेत अनलाइन नेपाललाई प्राप्त भएको छ । न्यौपाने इन्चार्ज भएर गएपछि छतौना बीओपीबाट तस्करीको लाइन खुलेआम चलेको छ ।
सशस्त्र प्रहरी बल मुख्यालय, अनुगमनमा डीएसपी सुदीप रेग्मीकै जोडबलमा न्यौपानेलाई छतौना पठाइएको चर्चा हुने गरेको छ । डीएसपी रेग्मी सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालका विश्वासपात्र हुन् ।
छिन्नमस्ता बाहिनीका डीआईजी कृष्ण ढकाललाई समेत गुमराहमा राखी मुख्यालयबाटै रेग्मीले न्यौपानेलाई छतौनाको इन्चार्जमा लगेको स्रोतको दाबी छ ।
छतौना बीओपीको इन्चार्जमा इन्स्पेक्टर न्यौपानेलाई सरुवा गराउनमा ब्यापारी नवीन चौधरीसमेत लागेका थिए । चौधरीले समेत छतौनाबाट तस्करी गर्ने गरेका छन् ।
छतौना बीओपीमा तस्करीको सेटिङ मिलाउन घुमुवा सिपाहीहरु शिवमकुमार माइकल संजय पण्डितलाई परिचालन गरिएको छ । प्रस्तावित गुल्म फेनहराबाट पनि ७ महिनादेखि बरिष्ठ हवल्दार राजाराम केसरीलाई घुमुवाका रुपमा खटाइएको छ ।
उनीहरुको मिलमेतोमा ११ नम्बर पिलरबाट पिकअपमा युनिलिभरका सबै सामान भन्सारछली गरी भारततर्फ हरेक रात पठाउने गरिएको छ ।
बाराका यी सीमाक्षेत्रबाट तस्करीको नेटवर्क चलाउन सशस्त्र मुख्यालयका रेग्मीबाट संरक्षित घुमुवा सहायक हवल्दार सन्तोष यादव र पथलैया शिक्षालय दरबन्दी भएका हवल्दार राजीव यादवसमेत खटिएका छन् ।