काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र लोकतन्त्रलाई अझ सुदृढ बनाउन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न सबैलाई आह्वान गरेका छन्।
आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो वार्षिकोत्सव तथा एनटीभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चारमाध्यमहरुको भूमिका अत्यन्त महत्वपूर्ण हुने उनले बताए।
राष्ट्रपति पौडेलले भने- 'नेपाली जनताको ठूलो बलिदानीबाट स्थापित लोकतन्त्रको संरक्षण र सुदृढीकरणका लागि सञ्चारमाध्यमको योगदान अपरिहार्य छ । ‘युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई सम्बोधन गर्दै संविधान र लोकतन्त्रलाई अझ उन्नत बनाउन निर्वाचन सफल पार्नुपर्छ।'
राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यमलाई आग्रह गरे ।
सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रभाव बढेको उल्लेख गर्दै उनले प्रविधिको दुरुपयोगबाट जनतालाई भ्रममा पार्ने जोखिम रोक्न जिम्मेवार सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताए।