काठमाडौं । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध प्रदेशसभामा सात दलले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
सभामुखले पदीय आचरण पालना नगरेको र एक पक्षको निर्देशनमा पटक–पटक सभा सञ्चालन गरेको आरोपसहित उक्त प्रस्ताव दर्ता गरिएको हो ।
अविश्वास प्रस्तावमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र(, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी का प्रदेशसभा सदस्यहरूको हस्ताक्षर रहेका छन्।
प्रस्तावमा भनिएको छ, '६४ जना प्रदेशसभा सदस्यको समर्थनमा सभामुखले पदअनुकूल आचरण नगरेको भनी प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १८० को उपनियम (१) बमोजिम यो प्रस्ताव पेश गर्दछौं।'
सात दलले सभामुख मण्डलमाथि विपक्षी दलको अनुपस्थितिमा एकपक्षीय रूपमा सभा सञ्चालन गर्ने, दलगत स्वार्थअनुसार कार्यसूची निर्धारण गर्ने र सभाको मर्यादामाथि आघात पुर्याउने आरोप लगाएका छन्।
प्रारम्भमा यो प्रस्ताव दर्ता गर्न सत्तापक्षीय सांसदहरूले अवरोध सिर्जना गरेका थिए। तर, त्यसलाई पार गर्दै सात दलले अन्ततः प्रस्ताव दर्ता गर्न सफल भएका हुन्।
यससँगै मधेस प्रदेशसभामा राजनीतिक तनाव थप चर्किएको छ।