चितवन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले फागुन २१ गते घोषित निर्वाचनलाई प्रतिक्रान्तिलाई वैधानिकता दिने र दलहरुलाई विस्थापित गर्ने ‘हनी ट्र्याप’ भएको दाबी गरेका छन् ।
आज चितवनमा नेकपा एमालेले गरेको जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले भने–‘फागुन २१ को निर्वाचन प्रतिक्रान्तिलाई पूर्णता र वैधानिकता दिनको निम्ति गराउने निर्वाचन हो । यो सामान्य निर्वाचन होइन । संसदीय निर्वाचन जस्तो निर्वाचन होइन । साम्राज्यवादीहरुले आफ्नो दलालहरुलाई स्थापित गर्ने र प्रतिक्रान्तिलाई पूर्णता दिने र प्रतिक्रान्तिको सरकारलाई स्थायित्व दिने नौटङ्की हो । यो एउटा हनी ट्र्याप हो ।’
उनले फागुन २१ को निर्वाचनमा नेकपा एमाले नपरेको र पर्नु नहुने पनि बताएका थिए । पश्चिमा साम्राज्यवादीहरुले नेपालका जनमत भएका दलहरुलाई सिध्याएर साम्राज्यवादीका दलालाहरुलाई स्थापित गर्ने रणनीति अनुसार निर्वाचन घोषणा गरिएको र फागुन २१ अघि दलका नेता र दलहरु सिध्याउन नसके सुशीला कार्की नेतृत्वको सरकार पनि हटाइने उनको दाबी थियो ।
उनले भने–‘दलहरु हटाउने निर्देशन सुशीला कार्कीलाई दिइएको छ । उनले फागुन २१ अघि दलहरु सिध्याउन सकिनन् भने उनलाई हटाइदिन्छन् । र म गर्छु भन्ने दलाललाई स्थापित गरिदिन्छन्,अर्को अन्तरिम अस्थायी सरकार बनाउँछन् ।’
दलहरुले आत्मसमपर्ण गरे भने चुनाव हुन दिने नभए नदिने रणनीति रहेको पनि उनको दाबी छ । आत्मसमर्पणलाई व्याख्या गर्दै बादलले भने–‘नेपालमा पश्चिमाको सैनिक अड्डा बनाउन दिने, त्यस्ता राजनीतिक निर्णय गर्ने जुन पश्चिमी शक्तिहरुको हितमा हुन्छ त्यस्तो निर्णय गर्ने हो भने उनीहरुको निर्देशनलाई दलहरुले माने फागुनमा निर्वाचन हुन्छ र मानेनन् भने चुनाव हुँदैन ।’
उनले नेकपा एमाले पश्चिमा स्थापित गराउने हनी ट्र्यापमा नपरेको दाबी गर्दै बादलले नेकपा एमाले कसैको निर्देशनमा नचली संसदको पुर्नस्थापनामार्फत राष्ट्रको स्वाधीनता र आत्मनिर्णयको अधिकार तथा लोकतन्त्रलाई सुरक्षित गर्न लागेको दाबी पनि गरे ।
त्यसैगरि बादलले संविधान मिचेर बनाइएको सुशीला कार्कीको सरकारमार्फत दलाल शक्तिलाई स्थापित गरेर चीन र भारतमा अस्थिरता मच्चाउने रणनीतिमा लागेको दावी गरे ।
उनले भने–‘चीनमा पश्चिमी शक्तिहरुले आन्दोलन चलाएर तिब्बत, सिन्ज्यानलाई चीनबाट अलग गराउने र पञ्जब, नर्थ इष्ट, आन्द्र प्रदेश लगायतलाई ३० वटा राज्यमा अलग गर्ने षड्यन्त्र अनुरुप नेपालमा सैन्य अड्डा बनाउन यो प्रतिक्रान्ति घटाएको हो ।’
उनले नेपाली कम्युनिस्ट पार्टीलाई टहराको संज्ञा दिएका छन्। छुट्टाछुट्टै बस्दा अस्तित्व समाप्त हुने डरले उनीहरू एक ठाउँमा आएको बताउँदै नेपाली कम्युनिस्ट पार्टीलाई दस कोठे टहराको संज्ञा दिएका हुन्।
उनले भने–‘अलग अलग कोठामा बसिरहेका थिए। कोठाले उनीहरूको अस्तित्व धानिने भएन। त्यसकारण आफ्नो अस्तित्व रक्षाका लागि दस कोठे टहरा बनाए। अस्तित्व बँच्छ कि भन्ने उहाँहरूको हिसाबकिताब छ ।’
अलग बस्दा निर्वाचन नजितिने भएपछि उनीहरू एक ठाउँमा आएको दावी गर्दै उनले भने–‘टहरा बनाइयो भने आउने निर्वाचनमा केही सिट पाइन्छ कि भन्ने उनीहरुको राजनीतिक लक्ष्य हो ।’
नेपाली कम्युनिष्ट पार्टीमा दस पार्टी भने पनि मुख्यतः माओवादी केन्द्र र एकीकृत समाजवादी मात्रै रहेको बताएका उनले अरू व्यक्ति मात्रै जोडिएको दाबी गरे ।
एमाले छाडेर गएकाहरूको अस्तित्व टहरामा बस्दैमा रक्षा नहुने पनि उनले मूल घरमा फर्कन उनले आह्वान गरे।
उनले भने–‘मूलघरमा फर्केर मात्रै उहाँहरुको अस्तित्व रक्षा हुन सक्छ। हामीले प्रतिनिधि समा पुनर्स्थापना गरेपछि हुने चुनावमा उहाँहरु विजयी हुन सक्नुहुन्छ। सांसद बन्न सक्नुहुन्छ। मन्त्री बन्न सक्नुहुन्छ। यस्तो टहरोमा बसेर हुँदैन ।
यद्यपी उनी आफै भने माओवादी छाडेर एमालेतिर लागेका व्यक्ति हुन् । माओवादी र एमाले मिलेर बनेको पार्टी फुट्दा उनी एमालेतिर लागेका थिए ।