काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को विषयमा अनेक विवाद बाहिर आएका छन् । बोलपत्र पारदर्शी नभएको विषयदेखि बेटिङसम्मका विषयमा नेपाल क्रिकेट संघ (क्यान) को आलोचना गरिएको छ ।
अनलाइन बेटिङको काम गर्दे आएको डाफा न्यूजलाई एनपीएलको प्रायोजक बनाइएको छ । जुन कम्पनीले विश्वभरी अनलाइन जुवा खुलाउँदै आएको छ । यो विषयमा गत वर्ष पनि प्रश्न उठेको थियो ।
क्यानले कमजोरी स्वीकार समेत गरेको थियो । तर, यो वर्ष पनि सुधार भएन । यसपटक सोही विवादास्पद कम्पनीलाई प्रायोजक बनाइएको छ । जबकी नेपालमा अनलाइन जुवा पूर्णरुपमा निषेधित छ।
नेपाली क्रिकेटका दर्शकलाई अनलाइन जुवाको लत बसाउन क्यानकै संरक्षणमा प्रचार भइरहेको छ । यो विषयमा नेपाल बिज्ञापन बोर्डले पनि छानबिन थालेको छ ।
यस विषयमा स्पष्टीकरण सोधेर छानबिन थालिएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले बताएका छन्। यता नेपाल प्रहरीले पनि निगरानी बढाएको छ ।
एनपिएलमा केही ठूला बेटिङ सञ्चालकहरु सक्रिय बनेको सुचना पाएको छ । जसअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले छानबिन थालेको छ ।
त्यस्तै, क्यानमा अप्रत्यक्ष रुपमा रक्सी कम्पनीको पनि प्रचार गरिएको छ । एनपिएलमा पानी बिक्रिका लागि गोल्डेन याक नामक कम्पनीलाई दिइएको छ । रक्सी बेच्दै आएको सो कम्पनीले पानीमा रक्सी ब्रान्डको नाम राखेर प्रचार गरिरहेको छ ।
यस विषयमा पनि क्यानमाथि प्रश्न उठेको छ । स्रोतका अनुसार एनपीएलको सबै व्यवस्थापन गर्दे आएका सचिव पारस खड्काकै कारण यस्ता गलत हर्कत भइरहेका छन् । उनी विभिन्न समूहको प्रभावमा पर्दै आएको आरोप लागेको छ।