काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अक्सन दिउँसो १ बजेदेखि सुरु हुन लागेको हो ।
यसपटक अक्सनबाट अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध हुनेछन्। साथै, प्रत्येक टोलीले थप दुई नेपाली खेलाडी अनुबन्ध गर्ने अवसर पनि पाउनेछ।
एनपीएल–३ का लागि प्रारम्भिक रूपमा ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। छनोट प्रक्रियापछि १५५ खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो। ती खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ।
अक्सनका लागि श्रेणी ‘ए’ मा ५, श्रेणी ‘बी’ मा २७ र श्रेणी ‘सी’ मा १२३ खेलाडी रहेका छन्। श्रेणीअनुसार खेलाडीको आधार मूल्य निर्धारण गरिएको छ।
यसपटक अक्सनअघि जनकपुर बोल्ट्ससँग सबैभन्दा धेरै ६६ लाख २५ हजार रुपैयाँ खर्च गर्ने बजेट बाँकी छ। यता काठमाडौं गोर्खाजसँग भने सबैभन्दा कम ३४ लाख रुपैयाँ मात्रै बाँकी रहेको छ।
एनपीएलको तेस्रो संस्करणमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स गरी आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।