काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लील क्रियाकलाप र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन विदेशी महिलालाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा विदेशी तथा स्वदेशी पर्यटकलाई दुःख हैरानी दिएको र प्रहरीमाथि नै अभद्र व्यवहार गरेको आरोपमा तीन युगान्डाली महिलालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका महिलाले ठमेलमा हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेक्ने र अश्लील क्रियाकलापका लागि मोलमोलाइ गरी दुःख हैरानी दिने गरेकाले पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका तीन विदेशी महिलालाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टराईले बताए । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।