काठमाडौं । 'हामी नेपाल' संस्थाका संयोजक सुदन गुरुङले देशमा ‘विधिको शासन’ कमजोर बन्दै गएको दाबी गर्दै गृह प्रशासन र सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले केही व्यक्तिहरूले सार्वजनिक रूपमा समाजलाई बिग्रहमा लैजाने, भड्काउने र हिंसा उक्साउने अभिव्यक्ति दिँदै हिँड्दा समेत सरकारले आँखामुनि हेरेर बसिरहेको आरोप लगाएका हुन् ।
गुरुङका अनुसार दुर्गा प्रसाईँले आफ्नै नागरिकताको मिति सम्बन्धी गलत तथ्य प्रस्तुत गर्दै आफूलाई बदनाम गर्ने प्रयास गरे पनि वर्तमान अवस्थामा प्रसाईँभन्दा अझ गम्भीर उक्साउने अभिव्यक्ति दिने शक्तिशाली व्यक्तिहरूलाई राज्यले छोएको छैन ।
उनले भने, 'शान्तिपूर्ण रूपमा सडकमा उभिएका युवाहरूको टाउकोमा तक्मा राखेर गोली चलाउनेहरू मुक्त हिँडिरहेका छन्। त्यस्ता व्यक्तिमाथि गृह मन्त्रालयले त्यही कठोरता देखाउन सकेन।'
गुरुङले आफूलाई ‘संविधानविद्’ भनेर चिनाउने व्यक्तिहरूले साना नागरिकलाई कानून लागू गरिने तर शक्तिशालीलाई छूट हुने प्रवृत्तिलाई संस्थागत गरिरहेको आरोप पनि लगाए ।
उनले प्रश्न गरे, 'संविधानको कुन धारा भन्छ— ‘सानालाई ऐन, ठूलाीलाई चैन’? यदि विधिको शासन कार्यान्वयन हुनै नसक्ने हो भने पुरानो शासन र नयाँ शासनबीच के फरक रह्यो ?'
उनका अनुसार देशभरका हजारौं युवाले गरेको आन्दोलन, बलिदान र त्यागको सम्मान नगरी शक्तिको आडमा युवामाथि कारबाही थोपर्ने प्रवृत्ति अन्यायपूर्ण छ।
उनले भने, 'गृहमन्त्री आफैले युवाहरूलाई न्याय दिन्छु भन्थे । आज त्यही कुर्सीको आडमा उनीहरूलाई अपराधी साबित गर्न छानबिनको प्रतिवेदन कुरिनु पर्ने रहेनछ । तर शक्तिशाली व्यक्तिहरू भने खुलेआम ‘लोप्पा’ खुवाउँदै हिँडिरहेका छन् ।'
गुरुङका अनुसार मृतक तथा घाइते युवाहरूका परिवारले खोजिरहेको न्याय, सत्यको छानबिन र सबै नागरिकलाई समान व्यवहारको प्रत्याभूति बिना देशमा कुनै पनि प्रकारको निर्वाचन सम्भव छैन ।
उनले भने, 'न्याय सुनिश्चित नभएसम्म जनताको विश्वास फर्किँदैन, र विश्वास बिना लोकतान्त्रिक निर्वाचनको वातावरण बन्नै सक्दैन।' उनी गृहमन्त्री ओमप्रकाश अर्यालमाथि बेलाबेला खनिँदै आएका छन् ।