काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी र ‘म्याच फिक्सिङ’ प्रयास गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिक र एक नेपाली युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको हरियाणा, पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाकी रही हाल भारतको चण्डीगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन् ।
प्रहरीको विशेष टोलीले उनीहरूलाई मंगलबार काठमाडौंको लाजिम्पाट क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, उनीहरूले ह्वाट्सएप र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत एनपीएलमा सहभागी केही खेलाडीहरूसँग सम्पर्क गर्दै आएका थिए।
खेलाडीलाई प्रायोजन गर्ने भनी नजिकिने र खेलको नतिजामा प्रभाव पार्ने उद्देश्यले आर्थिक प्रलोभन देखाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।