काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दलका नेताहरूलाई निर्वाध रुपमा हिँडडुल गर्ने वातावरण बनाउन सरकारसंग आग्रह गरेका छन्।
आज प्रचण्डले बारामा जारी तनाव र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन् ।
स्थितिलाई थप हिंसात्मक तथा नियन्त्रण बाहिर जान नदिन सबैलाई संयमता अपनाउन भन्दै उनले लेखेका छन्- 'लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक हुन्छ तर त्यसलाई हिंसा वा उत्तेजनामा रुपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति होइन। त्यसैले राजनीतिक तथा वाक-स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेताहरूलाई निर्वाध रूपमा हिँडडुल गर्ने, सभा-सम्मेलन गर्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।'
उनले घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन कुनै पनि घटनाले नकारात्मक प्रभाव नपारोस् भन्ने विषयमा समेत सचेत र जिम्मेवार बन्न सबै पक्षलाई आग्रह पनि गरेका छन्।
'