नवलपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस आज मध्यविन्दु-८ खजुरी खोलामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा घाइते भएका सबैको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।
प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो ।
बस अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।