काठमाडौं । सिमरा विमानस्थलमा बुधबार भएको एमाले–जेनजी समूहबीचको झडपपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङ तानिएका छन् ।
प्रहरी प्रधान कार्यालयले एसपी तामाङलाई सो घटनामा कमजोर कार्यशैली देखाएको कारण तानेको स्रोतले बताएको छ । एसपी तामाङ असुलीका कारण पनि बदनाम हुँदै आएका थिए ।
उनको स्थानमा मानव बेचबिखन ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई खटाइएको छ । अन्य जिल्लाका एसपीको समेत सरुवा भएको छ । धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रदेश कार्यालयमा पठाइएको छ भने धादिङमा एसपी सुमित खड्काको सरुवा गरिएको छ ।
एसपी खड्का विगतमा दरबारमार्ग र गौशाला वृत्तमा कार्यरत रहँदा घुसकाण्डमा मुछिएका बदनाम पृष्ठभूमिका अधिकृतका रूपमा चिनिन्छन् ।
धादिङमा सरुवा भएका एसपी खड्का डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनका पीएसओ थिए । खड्का भट्टराईको सिफारिसमा धादिङमा सरुवा भएको स्रोत बताउँछ ।