एजेन्सी । एक वर्षअघि भएको युद्धविराम तोड्दै इजरायलले लेबननको राजधानी बेरूतमा हवाई हमला गरेको छ ।
राजधानीका दक्षिणी भागमा गरिएको नयाँ प्रहारमा हिजबुल्लाहका शीर्ष नेता अली ताब्ताबाई मारिएको दाबी इजरायली सेनाले गरेको छ ।
घटनालाई अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पुष्टि गरेको छ। लेबननमा महिनौँदेखि राजधानी नजिक आक्रमण नहुँदा सीमामा स्थिति तुलनात्मक स्थिर देखिएको थियो ।
तर सोमबार साँझ भएको यस प्रहारले पुनः क्षेत्रीय तनाव तीव्र बनाएको छ। आक्रमण एक बहुतले भवनमा केन्द्रित रहेको र विस्फोटका कारण सडकमा रहेका सवारीसाधनसमेत क्षतिग्रस्त भएको बताइएको छ।
आक्रमणपछि स्थानीय बासिन्दाका मध्ये भागदौड मच्चिएको दृश्यहरू सार्वजनिक भएका छन्। लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार हवाई आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।