Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस नेता गुरुङले भने - विशेष महाधिवेशन सम्भव छैन, देउवाकै हस्ताक्षरमा पार्टी निर्वाचनमा जान्छ

कांग्रेस नेता गुरुङले भने - विशेष महाधिवेशन सम्भव छैन, देउवाकै हस्ताक्षरमा पार्टी निर्वाचनमा जान्छ

मंगलवार , मंसिर ९, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्र चर्चा हुँदै आएको विशेष वा नियमित महाधिवेशन सम्बन्धी प्रस्ताव आजसम्म पार्टीको केन्द्रीय कार्य समितिमा औपचारिक रूपमा नआएको स्पष्ट पारेका छन् ।

केन्द्रीय कार्य समितिको बैठकमा उठेका विभिन्न राजनीतिक बहसका बीच गुरुङले पार्टीको विधान, प्रक्रिया र आगामी निर्वाचन तयारीलाई आधार बनाउँदै विशेष महाधिवेशन ‘अहिले असम्भव’ रहेको उनको ठहर छ ।

गुरुङका अनुसार पार्टी विधानको धारा १७(२) ले सभापति, पदाधिकारी वा सदस्य हटाउने प्रावधान राखेको छैन ।

उनले लेखेका छन्, 'हस्ताक्षरहरूको सनाखत–प्रमाणीकरणसमेत भइसकेको छैन, न यसका लागि आवश्यक नियमावली बनेको छ, न त पार्टी बैठकमा कुनै औपचारिक प्रस्ताव आएको छ। केन्द्रीय कार्य समितिले यस विषयमा कुनै निर्णयसमेत गरेको छैन।'

उनले भनेअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तथा राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने कांग्रेसको निर्णय भइसकेकाले अहिलेको प्राथमिकता निर्वाचन तयारी नै हो।

गुरुङले त्यसैले विशेष महाधिवेशनमा अलमलिनु पार्टीका लागि दूरदर्शी निर्णय नठहरिने बताए। गुरुङले वर्तमान सभापतिको नेतृत्वमै पार्टी निर्धक्क रूपमा निर्वाचनमा जाने संकेत दिएका छन् ।

'निर्वाचनअघि महाधिवेशन सम्भव छैन,' उनले भने, 'पार्टी एकता मजबुत बनाउँदै आगामी निर्वाचनमा केन्द्रीकृत भएर जानु अहिले कांग्रेसको प्रमुख दायित्व हो।'

गुरुङले पार्टीभित्रका असहमति र बहसलाई स्वाभाविक मान्दै पनि एकता र संगठन सुदृढीकरण नै वर्तमान आवश्यकतामध्ये पहिलो रहेको दोहोर्याए।

उनले भने,'पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुन आवश्यक सबै तयारी सम्पन्न गर्नुपर्छ। एकता कायम राख्नु छ र पार्टीलाई अझ समृद्ध, व्यवस्थित र चुनावमुखी बनाउनु छ।'

यसअघि कांग्रेस महामन्त्री गगन थापाले चुनावको टिकटमा नयाँ सभापतिको हस्ताक्षर हुने टिप्पणी गरेका थिए । उनले अब विशेष महाधिवेशनको विकल्प नरहेको पनि बताएका थिए । तर कल्याण गुरुङले काउन्टर जवाफ फर्काएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077