काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १२ गतेदेखि आफूहरूले गर्न लागेको एकता सन्देश सभाले निर्वाचनको लागी दबाब सिर्जना गर्ने बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहितका विभिन्न कम्युनिष्ट घटक दलहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको धनगढीदेखी विराटनगरसम्म एकता सन्देश सभा गर्न लागिएको बताए ।
उनले भने- 'हामीले पार्टी एकता सन्देश सभा भनेर पर्सी १२ गते देखी धनगढीबाट सभाहरू सुरु गर्देछौँ र विराटनगरसम्म पुग्दैछौँ । त्यहाँ हामी लाखौँ नेपाली जनतालाई एकताको सन्देश प्रवाहित पनि गर्नेछौँ र निर्वाचनको निम्ति वातावरण बनाउन जनतालाई अपिल पनि गर्नेछौँ ।'
हाल देखापरेको असहज परिस्थितिलाई सहज बनाउन आफूहरू अगाडी बढ्ने उनले बताए ।
उनले थप भने- 'सरकारलाई निर्वाचनको वातावरण बनाउन गम्भीर पहलको निम्ति हामीले एकातिर उत्प्रेरित गर्नेछौँ भने अर्कोतिर कहीँ न कहीँ दबाब पनि सृष्टि गर्नेछौँ ।'
उनले नेपाली कम्युनिष्ट पार्टीमा युवाहरूको आकर्षण रहेको समेत दाबी गरेका छन् ।