एजेन्सी । इटालीको संसद्ले ‘फेमिसाइड’ अर्थात् नारी हत्यालाई छुट्टै र जघन्य अपराधको रूपमा परिभाषित गर्ने कडाइयुक्त विधेयक पारित गरेको छ ।
महिला हत्यामा संलग्नलाई अब आजीवन कारावासको सजाय हुनेछ । बीबीसीका अनुसार कठोर दण्डसहितको यो ऐतिहासिक निर्णय महिलाविरुद्धको हिंसा उन्मूलनका लागि ठूलो कदमका रूपमा हेरिएको छ।
विधेयक नोभेम्बर २५ मा पारित भएको हो—यही दिन विश्वभर महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। दिवसकै दिन निर्णय पारित हुनुले इटालीले दिगो प्रतिबद्धताको सशक्त सन्देश दिएको विश्लेषकहरूको ठम्याइ छ ।
इटालीमा फेमिसाइडविरुद्ध छुट्टै कानुन बनाउने बहस वर्षौँदेखि चलिरहेको थियो। तर सन् २०२३ को नोभेम्बर अन्त्यमा २२ वर्षीया जुलियाको निर्मम हत्या भएपछि सरकारमाथि व्यापक जनदबाब सिर्जना भयो ।
उनका पूर्वप्रेमी फिलिपो टुरेटाले छुरा प्रहार गरी जुलियाको हत्या गरेका थिए र शवलाई तालको किनारमा फ्याँकेका थिए। उक्त घटनाले इटालीभर आक्रोश फैलिएको थियो।
यसो हिँदा सरकारलाई महिला हत्या सम्बन्धी अपराधलाई मौजूदा कानुनभन्दा पृथक, कडा र स्पष्ट परिभाषासहित नियमन गर्न बाध्य बनायो ।