काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा नेकपा एमालेका शीर्ष नेताहरूले आगामी निर्वाचनबाट नभाग्ने बताएका छन् ।
उनीहरूले पछिल्ला घटनाक्रममा भागेका कैदीबन्दी, लुटिएका हतियार र बढ्दो सुरक्षा चुनौतीका कारण भयरहित र निष्पक्ष निर्वाचन वातावरण अहिले अपूरो रहेको बताउँदै सरकारलाई आवश्यक पहल गर्न आग्रह गरेका हुन् ।
बिहीबार बालुवाटारमा भएको भेटमा महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौलाले लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्धता दोहोर्याउँदै एमाले सधैं जनताको परीक्षणलाई तयार हुने पार्टी भएको बताए ।
बैठकपछि प्रतिक्रिया दिंदै नेता महेश बर्तौलाले भने, 'लोकतान्त्रिक परम्परालाई जोगाउन हामीले लामो संघर्ष गरेका छौँ। जनतामाझ जान रुचाउने पार्टी एमाले हो, हामी कहिल्यै भाग्ने पक्षमा हुँदैनौँ।'
उनका अनुसार अदालतले संवैधानिक परीक्षण टुंग्याएपछि निर्वाचनसम्बन्धी अनिर्णयहरू पनि स्पष्ट हुनेछन् । 'जनताको अनुमोदनबाट आउने निर्वाचनबाट पिँठ्यु फर्काउने कुरा हामीमा छैन,' बर्तौलाले भने ।