काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखराले लुम्बिनीलाई १५१ रनको लक्ष्य दिएको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको हो । पोखराका ओपनर एडम वासिङटनले ६३ बलमा ८१ रन बनाएका थिए भने जिम्मी निशमले ३२ बलमा ५१ रनमा अविजित रहे ।
पोखराका अन्य ब्याट्सम्यानमध्ये दिनेश खरेल ७, कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ०, तिर्थ दास १ रनमा आउट भए । किरणकुमार ठगुन्ना एक रनमा अविजित रहे ।
लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने गुल्ददिन नाइवले एक विकेट लिए।
यस्तै आजै अर्को खेल जनकपुर बोल्ट र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ मा हुनेछ ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् ।
प्रतियोगिताका विजेताले एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।