काठमाडौं । जेनजी अभियान्ता सुदन गुरुङले आफूहरु पोखरा जाने तयारी गर्दै गर्दा नेकपा एमालेलगायत केही समूह मिलेर आफ्नो कार्यक्रम विथोल्ने प्रयास गरेको जानकारी गराएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यसबारे जानकारी गराएका हुन् । यद्यपी उनले आफूहरुको कदम नरोकिने दावी गर्दै भनेका छन्–‘आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन, हामी सधैं सत्य र देशको पक्ष उभिन्छौं ।’
शिर ठाडो पारेर पोखरा आउने भन्दै उनले जेजनी दाजुभाइ तथा बहिनिको आवाजसँग जोडिने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्–‘पोखरामा जेनजी भाइबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमाबुबालाई दाजुभाइ तथा दिदीबहिनीहरू भेट्न हामी पोखरा निस्कियौं, र हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ ।
तर यसले हाम्रो कदम रोक्दैन, किनकी हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन, हामी सधैं सत्य र देशको पक्ष उभिन्छौं, हामी आफ्ना जेनजी दाजुभाइ तथा बहिनीका आवाजसँग जोडिन्छौं र अझ बलियो हुन्छौँ । हामी झण्डा गर्वले उचाल्छौं, झण्डा उठाएर, शिर ठाडो पारेर, हामी पोखरा आउनेछौं ।’