पोखरा । पटक–पटक गृहमन्त्री गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिरहेका जेनजी अभियान्ता एवं हामी नेपालका संस्थापक सुधन गुरुङले आज पनि उनको विरोध गरेका छन् ।
गृहमन्त्री अर्यालले बच्चाको रगत लागेको कुर्सीमा बसेर शानसँग गफ हानेको गुरुङको आरोप छ ।
पोखरामा सोमबार तमु ह्रयुल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् जिल्ला समिति कास्कीले आयोजना गरेको सम्मान कार्यक्रममा गुरुङले गृहमन्त्री अर्याल सल्लाहकार बनेर पसेर मन्त्री पदको लाभ लिएको आरोप लगाए ।
कार्यक्रममा उनले भने–‘ओमप्रकाश अर्याल भन्ने एउटा व्यक्ति जो कानूनी सल्लाहकार भएर हामीलाई गुमराहमा पार्नुभयो । र, आज गृहमन्त्रालयमा बच्चाको रगत लागेको कुर्सीमा बसेर शानसँग गफ हानिराख्नुभएको छ ।’
कार्यक्रममा गुरुङले आफ्नो शिर जेनजीको शिर भएकाले कहिल्यै झुक्न नदिने बताए । एमाले नेताहरुप्रति लक्षित गर्दै उनले सुधन बस्नेत या सुधन ओली भएको भए आफ्नो नागरिकका विषयमा कुरा नउठ्ने तर, गुरुङ भएर कुरा उठेको बताए ।
अर्यालको कामप्रति चर्को असन्तुष्टि जनाउँदै आएका उनले अर्यालले जनताको भरोसा पूरा गर्न नसकेको आरोप लगाउँदै आएका छन् ।
यस अघि पनि उनले ‘काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।’ भन्दै अर्यालमाथि आक्रोश पोखेका थिए ।