काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको मिति सर्वसम्मत रूपमा तोकिएपछि पार्टीभित्र देखिएको अनिश्चितता अन्त्य भई नयाँ चहलपहल सुरु भएको छ ।
यही परिवेशमा कांग्रेसका युवा नेता आदर्श मल्लले पार्टीलाई सम्भावित फुटबाट बचाउन सभापति शेरबहादुर देउवाले खेलेको भूमिका ऐतिहासिक रहेको भन्दै प्रशंसा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिक्रिया दिँदै मल्लले देउवाले देखाएको अर्जूनदृष्टि र सक्रिय नेतृत्वका कारण कांग्रेस पुनः एकताबद्ध भएर महाधिवेशनतर्फ अघि बढ्न सफल भएको बताए।
उनले भने, 'नियमित महाधिवेशनका पक्षमा सभापतिले लिएको दृढ अडान, नव–युवा पुस्ताप्रतिको विश्वास र पार्टी संरचनामा नयाँ पुस्तालाई प्रवेश गराउने प्रयासले कांग्रेसलाई नयाँ ऊर्जा दिएको छ।'
नेता मल्लले महाधिवेशनको वातावरण निर्माणमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको भूमिकालाई पनि उत्तिकै महत्वपूर्ण बताउँदै, उनले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै ‘उत्कृष्ट कार्यक्षमता’ प्रदर्शन गरेको उल्लेख गरे ।
मल्लले पार्टीभित्र केही समूहले उठाइरहेको विशेष महाधिवेशनको प्रस्ताव अब निरर्थक भइसकेको बताउँदै, त्यसले अनावश्यक विवाद मात्र बढाउने टिप्पणी गरे।
'विशेष महाधिवेशनको प्रस्ताव रहेसम्म पार्टी फुट्ने सम्भावना जीवित रहन्छ। नियमित महाधिवेशनको मिति भइसकेको अवस्थामा यसको औचित्य सकिएको छ', उनले भने ।
उनी भन्छन्, 'अब पार्टीभित्रका असन्तुष्ट पक्षले पनि विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिएर नियमित महाधिवेशनलाई भव्य र सफल बनाउन एकताबद्ध हुन आवश्यक छ।'
मल्लले कांग्रेसले अब देशका चुनौती समाधान र पार्टीको पुनर्जीवनतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । उनले नीतिगत तथा संरचनात्मक सुधारसहित युवा सहभागिता बढाउन विधान संशोधन गर्नुपर्नेमा जोड दिए। त्यससँगै उनले कार्यकर्तालाई आजैदेखि आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्न आह्वान गरे।