काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरवारमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग महावरले गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका थिए।
महावरले भेटमा नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका मुद्दा र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक स्रोत–साधन, सुरक्षा व्यवस्था तथा आवश्यक समन्वयमा भारत सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, विपद् पीडित संरचनाको पुनर्स्थापना तथा व्यवस्थापनमा सहयोग जारी रहने, भैरहवामा निर्माण भइरहेको एकीकृत जाँच चौकी र नेपालमा भारतीय लगानीमा चलिरहेका परियोजनाहरू समयमै सम्पन्न गर्न भारत सहयोग गर्ने उनले बताएका छन्।
साथै, उनले गृहमन्त्री अर्याललाई उपयुक्त समयमा भारत भ्रमण गर्न निम्तोसमेत दिएका छन्।