काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’सँग औपचारिक वार्ता अघि बढाउन सरकारले वार्ता समिति गठन गरेको छ ।
महाअभियानसँग संवाद र समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको हो ।
समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन्।
वार्ता समिति गठनको जानकारी दिँदै प्रधानमन्त्रीको स्वकीय सचिवालयले महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई पत्रसमेत पठाएको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा पठाइएको पत्रमा महाअभियानका तर्फबाट पनि वार्ताका लागि तीन जना प्रतिनिधि तोक्न अनुरोध गरिएको छ।
यसअघि सरकारले मंसिर २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रसाईंसँग प्रारम्भिक छलफल गरेको थियो। सो छलफलमा महाअभियानले उठाएका माग र विषयवस्तुमा विस्तृत संवाद गर्न पुस २ गते पुनः बैठक बस्ने सहमति भएको थियो।