काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष जय शाहले नेपाल प्रिमियर लिगको सफल आयोजनाका लागि नेपाल क्रिकेट संघलाई बधाई दिएका छन् ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दलाई सम्बोधन गर्दै अध्यक्ष शाहले एक पत्र पठाएर प्रतियोगिताको भव्य सफलता र उत्कृष्ट व्यवस्थापनको खुलेर प्रशंसा गरेका हुन्। उक्त पत्रमा शाहले एनपीएलको सफल योजना र कार्यान्वयनका लागि क्यानको नेतृत्व पंक्तिलाई बधाई ज्ञापन गरेका छन्।
शाहले आफ्नो पत्रमा यस वर्षको एनपीएलले संगठन र क्रिकेटको गुणस्तर दुवै पक्षमा एक उल्लेखनीय ुबेन्चमार्कु (मापदण्ड) स्थापना गरेको उल्लेख गरेका छन्। उनले प्रतियोगिताको व्यवस्थापन पक्ष अन्तर्राष्ट्रिय स्तरको रहेको संकेत गरेका छन्।
पत्रमा अध्यक्ष शाहले क्यान अध्यक्ष चन्दको नेतृत्व र दूरदर्शिताले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।