जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । नेपाली कांग्रेससहित सात दलको समर्थनमा बनेको यादव नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गरेको हो ।
मधेश प्रदेशसभामा उपस्थित ९२ जना सांसद सबैले मुख्यमन्त्रीको पक्षमा मतदान गरे। विपक्ष र तटस्थतर्फ शून्य मत परेको छ।
प्रदेशसभामा सरकारलाई बहुमतका लागि आवश्यक संख्या ५४ मत रहे पनि मुख्यमन्त्री यादवले त्यसभन्दा निकै बढी समर्थन हासिल गरेका हुन्।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिएका हुन्।
मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेसका साथै नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन्।
यादव यसअघि सात दलका ७७ जना सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।
हाल मधेश प्रदेशसभामा कुल १०७ सदस्य रहेकामा तीन जना सांसद निलम्बित छन्। निलम्बित हुनेमा नेकपा एमाले, जसपा र लोसपाका एक–एक जना रहेका छन्।