काठमाडौं । कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीबाट भरुवा बन्दुक र वन्यजन्तुका अंग बरामद भएको घटनामा प्रहरीकै संलग्नतामा चलखेल भएको पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा गठित विशेष अनुसन्धान समितिले सो घटनामा गम्भीर अनियमितता भएको निष्कर्ष निकालेको हो ।
समितिको प्रतिवेदनपछि उक्त प्रकरणमा जोडिएका तत्कालीन इप्रका मालाखेतीका इन्स्पेक्टर दानसिंह भण्डारीसहित केही प्रहरी कर्मचारीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयले रायका लागि अनुसन्धान प्रतिवेदन केही दिन अगाडि प्रहरी प्रधान कार्यालय (हेडक्वाटर) पठाइसकेको छ । त्यसपछि सम्बन्धितमाथि आवश्यक कारबाही हुने तयारी भइरहेको स्रोत बताउँछ ।
गत साउन ४ गते स्याउलेस्थित दुई घरमा छापा मार्दा प्रहरीले भरुवा बन्दुकसँगै चित्तलका खुट्टा र सिङ्ग बरामद गरेको थियो । तर ती वन्यजन्तुका अंग पैसा असुलेर गायब पारिएको आरोप इन्स्पेक्टर भण्डारीसहित सम्बन्धित प्रहरीमाथि लागेको छ ।
चित्तलका खुट्टा र सिङ्ग गायब पारेर भरुवा बन्दुक मात्रै भेटिएको भन्दै मुद्धा कमजोर बनाई दोषीलाई उन्मुक्ति दिइएको थियो । त्यसबेला भण्डारी इप्रका मालाखेतीको मुद्दा शाखामा कार्यरत थिए ।
उनीविरुद्ध हिरासतमा कुटपिट गर्ने र मुद्दा मिलाइदिने नाममा आर्थिक असुली गरेकोजस्ता गम्भीर आरोपसमेत वेनामे उजुरीमा उल्लेख गरिएको थियो ।
सो उजुरी प्रहरी प्रधान कार्यालयमा परेपछि इप्रका मालाखेतीका डीएसपी रणबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।
तर उक्त समितिले घटनालाई ढाकछोप गर्दै प्रदेश प्रहरी कार्यालयमा प्रतिवेदन बुझाएको आरोप लागेपछि प्रदेश प्रहरी कार्यालयले पुनः छुट्टै विशेष समिति गठन गरी अनुसन्धान अघि बढाएको थियो ।
डीएसपी श्रीवास्तव नेतृत्वको समितिले विस्तृत छानबिनपछि चलखेल भएको ठहर गरेको हो । स्रोतका अनुसार प्रतिवेदनका आधारमा संलग्न देखिएका प्रहरी कर्मचारीलाई विभागीय कारबाहीदेखि कानुनी प्रक्रियासमेत अघि बढाइनेछ ।